भक्तपुर रेडक्रसले ११ महिनामा ५१ हजार पिन्ट रगत वितरण 

55

भक्तपुर । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरले सञ्चालन गरेको रक्तसञ्चार सेवाले चालु आर्थिक वर्षको ११ महिनामा ५१ हजार पिन्ट रगत वितरण गरेको छ ।  शाखाका सभापति मनोजकुमार थापाले चालु आथिर्क वर्षको हालसम्म २९ हजार ३१८ पिन्ट रगत सङ्कलन गरी विभिन्न समूहका ५१ हजार ५६ पिन्ट रगत वितरण गरेको जानकारी दिनुभएको हो ।

रगत नपाए भक्तपुर जानु भन्ने उक्तिसहित रक्तसञ्चार सेवा सुरु गरेको रेडक्रस भक्तपुरले माग अनुसारको रगत आपूर्तिको लागि काठमाण्डौं उपत्यका बाहेक दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट र धादिङ जिल्लाको रेडक्रस शाखासँगको सहकार्यमा समेत रगत सङ्कलन गरेको थापाले बताउनुभयो । उहाँका अनुसार ती पाँच जिल्लाबाट २ हजार १८९ पिन्ट रगत सङ्कलन भएको छ ।

भक्तपुरका चार वटै नगरपालिकासँग सम्झौता गरी भक्तपुर बासीलाई निःशुल्क रगत तथा रक्ततत्व उपलब्ध गराउँदै आएको रेडक्रसले पछिल्लो समय काठमाण्डौंको कागेश्वरी मनोहरा नगरपालिका, रामेछापको गोकुलगंगा गाउँपालिकाका बासिन्दालाई समेत निःशुल्क रगत उपलब्ध गराउँदै आएको थापाले बताउनुभयो ।

उहाँले जनस्वास्थ्य कार्यालय भक्तपुर, वीर अस्पताल र भक्तपुर अस्पतालका विपन्न परिवार, थालासेमिया, हेमोफिलिया तथा सिङ्गल सेल एनिमिया र प्रसूतिका बिरामीलाई पनि निःशुल्क रगत उपलब्ध गराउँदै आएको बताउनुभयो ।

सरकारले तोकिएको मूल्य भन्दा पनि कम मूल्यमा रगत उपलब्ध गराउँदै आएको जानकारी दिँदै थापाले हाल मागको ५१ प्रतिशत मात्र रगत उपलब्ध गराउन सकिएको बताउनुभयो । उहाँले एक वर्षमा ५७५ वटा संघसंस्थासँग रगत दान कार्यक्रमको सहकार्य गरेको उल्लेख गर्दै विविध कारणले ८ हजार ३२७ पिन्ट रगत नष्ट गर्नुपरेको बताउनुभयो ।

कतिपय अस्पतालले बिरामीका लागि आवश्यक भन्दा बढी पिन्ट रगत ल्याउन लगाउने र ती रगत फिर्ता नगर्ने परिपाटीले पनि आवश्यक बिरामीलाई रगत उपलब्ध गराउन नसकिएको अवस्था रहेको थापाले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा रक्तसञ्चार सेवा समितिका संयोजक एवम् नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखा सदस्य सोम प्रधानले २०४५ कार्तिक १२ गते रक्तसञ्चार सेवा सुरु गरेको जानकारी दिँदै २०६० साल देखी रक्तल्याव सञ्चालन गरी कम्पोनेन्टसहितको रक्त सेवा सुरु गरिएको बताउनुभयो ।

उहाँले पछिल्लो समय केही निजी अस्पतालले बिरामीलाई तोकिएको भन्दा धेरै मूल्य लिएर रगत उपलब्ध गराई रगतको व्यापार गरेको भनेर आलोचना गर्नेलाई स्थान दिएको टिप्पणी गर्नुभयो ।

रेडक्रस शाखाको सञ्चार तथा मानवीय मूल्य प्रवर्द्धन समितिका संयोजक यज्ञविक्रम थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा शाखाका मन्त्री परशुराम पाण्डेले शाखाले भक्तपुरको दुधपाटीस्थित सिद्ध पोखरी, काठमाण्डौंको जमलमा दैनिक र काठमाण्डौंकै भूगोल पार्कमा हप्ताको ४ दिन नियमित रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिँदै रक्तदानका विविध पक्षमा जानकारी दिँदै एकले अर्कोलाई रक्तदान गर्न अभिप्रेरित गर्नुपर्ने बताउनुभयो ।