भक्तपुर। भक्तपुर साङ्गीतिक समाजको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशन शनिवार सिद्धि स्मृति प्रतिष्ठान हलमा सम्पन्न भएको छ।
आज सम्पन्न दोस्रो साधारण सभाका प्रमुख अतिथि नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानकी कुलपति निशा शर्माले भक्तपुरमा पनि सङ्गीतकर्मीहरूको समूह रहेको र सो समाजले राष्ट्रिय स्तरको साङ्गीतिक कार्यक्रमहरुपनि गर्दै आएको सुन्न पाउँदा खुसी भएको बत्ताइन्।
कार्यक्रममा समाजले चर्चित गायक कुम्ह सागर न्हुछें लक्ष्मी मुनंकर्मी युवा पुरस्कार-२०८० र बाँसुरी वादक यजु आचार्यलाई न्हुछें लक्ष्मी मुनंकर्मी युवा पुरस्कार-२०७९ मार्फत सम्मान गरिएको थियो। भक्तपुरबाट साङ्गीतिक क्षेत्रमा उद्याउँदै गरेका यी युवा कलाकार द्वयले थप हौसला प्रदान गर्नका लागि सो सम्मान गरिएको हो।
सो कार्यक्रममा समाजका सल्लाहकार द्वय वरिष्ठ साहित्यकार धुर्व मधिकर्मी, वरिष्ठ रचनाकार सुवासचन्द्र ढुङ्गेल, वरिष्ठ गीतकार शिव प्रसाद मुनंकर्मी, भक्तपुर उद्योग वाणिज्य सङ्घकी अध्यक्ष रोशनी मैया धौबन्जा, भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष कविदास श्रेष्ठ, भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका अध्यक्ष प्रेमकृष्ण खर्बुजा, भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिपेशराज शर्मा, भक्तपुर विद्युतीय सामग्री व्यवसायी सङ्घका अध्यक्ष रामप्रसाद खर्बुजा लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
समाजका कार्यसमिति सदस्य शम्भुचरण राजभण्डारीले स्वागत मन्तव्य दिएको उक्त कार्यक्रमको आर्थिक प्रतिवेदन कोषाध्यक्ष रोशन धौभडेल प्रस्तुत गरेका थिए, सभापतित्व समाजका अध्यक्ष प्रवीण शाहीले गरेका थिए।
आजै सम्पन्न समाजको प्रथम अधिवेशनमार्फत अल्बर्ट बज्राचार्य साङ्गीतिक समाजको अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन्। त्यसै गरी उपाध्यक्षमा इन्दिरा लाछिमस्यु र शशि कायष्ठ कसपाल, सचिवमा मानस राज बोहरा, कोषाध्यक्षमा श्रीहरि दाहाल र कार्यसमिति सदस्यहरूमा रोशन धौभडेल, श्रीजल मधिकर्मी, अनिता आचार्य, रशिल शाक्य, हरि सुन्दर लाखे श्रेष्ठ, रामहरी ताम्राकार, किरण सुवाल र रविन थापा निर्वाचित भएका थिए।
निर्वाचन समिति तर्फ संयोजकमा वरिष्ठ गीतकार हरिहर तिमल्सिना र निर्वाचन सदस्य द्वय तुलसी घेमोसु, दीपेन्द्र कुमार थापाले सौहार्दपूर्ण वातावरणमा अधिवेशन सम्पन्न गर्न सहयोग गरेका थिए।








































