भक्तपुर–२ मा नेकपा एमालेबाट महेश बस्नेतको उम्मेदवारी

0

भक्तपुर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले भक्तपुर क्षेत्र नम्बर २ बाट महेश बस्नेतलाई उम्मेदवार बनाउने भएको छ।

यस क्षेत्रबाट अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका दुर्लभ थापाले विजय हासिल गरेका थिए। उक्त निर्वाचनमा दोस्रो स्थानमा रहेका एमाले उम्मेदवार महेश बस्नेत यसपटक पुनः चुनावी मैदानमा होमिन लागेका हुन्।

बस्नेत २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए। तर २०७० को संविधानसभा निर्वाचन र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उनी पराजित भएका थिए।

यसैबीच, नेपाली कांग्रेसले अहिलेसम्म आफ्नो उम्मेदवार टुंगो नलगाउँदा क्षेत्र नम्बर २ मा राजनीतिक अन्योल देखिएको छ। उता, राप्रपाबाट अधिवक्त विक्रम थापा उम्मेदवार चयन भई सकेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीव खत्रीले भने टिकट पाइसकेका छन्।

प्रमुख दलका उम्मेदवारहरू सार्वजनिक हुँदै जाँदा भक्तपुर–२ को चुनावी प्रतिस्पर्धा थप चर्किँदै जाने संकेत देखिएको छ।