भारतले सीमा मिचेको छैन : राजेन्द्र महत्तो

382

भक्तपुर । राजपा नेपाल अध्यक्ष मण्डलका अध्यक्ष राजेन्द्र महत्तोले नेपाल भारतबीच अहिले सीमा विवाद नभएको बताएका छन् ।

रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष महत्तोले नेपाली सञ्चार माध्यमले उचालेको भरमा नेपाली सीमा भारतले मिचेको भन्न नमिल्ने बताएका हुन् ।

यदि सीमा सम्बन्धीत विवाद भए दुई देशका सरकारबीच कुटनीतिक सहमति र छलफलका माध्यमबाट मिलाउन सकिनेमा उनले जोड दिएका छन ।
कार्यक्रममा बोल्दै उनले बाम गठनबन्धनसँग सरकार गठनका बिषयमा सहमति हुन नसक्ने बताए ।

एमालेले संविधान संशोधनका बिषयमा सकारात्मक धारणा सार्वजनिक नगरी संविधान संशोधनमा बाधा पु¥याएको अबस्थामा राजपा एमालेका विरुद्ध फेरी आन्दोलनमा उत्रिने उनले चेतावनी समेत दिए ।
एमाले हिजो पनि संविधान संशोधनका विपक्षमा रहेको थियो आज पनि छ उनले भने ‘यदि संविधान संशोधन नभएर हामी जुनसुकै खालको कदम चाल्न बाध्य हुनेछौ ।’
अध्यक्ष महत्तोले दुई नंम्बर प्रदेशमा जनताले राजपा र फोरम लोकतान्त्रीक पार्टीलाई सरकार बनाउने म्याण्डेट दिएकोले यहाँ दुई पार्टीको सहमतिमा सरकार निमार्ण हुने बताए ।
नेपालका नेताहरुले खोक्रो राष्ट्रवादका हिसाबले भारतलाई गाली मात्रै गर्ने होइन दुई देश बीचको आपसी सम्बन्धलाई पनि सुर्धार गर्न सक्नुपर्नेमा उनले जोड दिए ।

अध्यक्ष महत्तोले भारतीय दुतावासमा अन्य राजनीतिक दलका नेताहरु पटक पटक पुग्दा कुनै बिषय नउठेपनि हामी पुग्दा भारतवादी आरोप लगाउने काम गलत भएको टिप्पणी गरे ।
अहिलेसम्म सरकारमा पुगेका आफूलाई ठूला भन्ने दलहरुले देश र जनताका बिषयमा केही गर्न नसकेको उनले आरोप लगाए । नेपालमा छिमेकी देशसँगको सम्बन्धका बारे दल र व्यक्ति पिच्छे नीति होईन राष्ट्रिय नीति निर्माण हुनुपर्ने उनको भनाई छ ।