‘मजदुर समस्याले उद्योग बन्द गर्नुपर्ने बाध्यता’

460

भक्तपुर ।

भक्तपुरका उद्योगी व्यवसायीहरुले मजदुर समस्याले गर्दा उद्योग बन्द गर्नुपर्ने बाध्यता आइलागेको बताएका छन् ।
भक्तपुर उद्योग वाणिज्य संघमा नवनिर्वाचित पदाधिकारीहरुको सम्मानमा भक्तपुर घरेलु तथा साना उद्योग संघले गरेको बधाई ज्ञापन कार्यक्रममा उद्योगी व्यवसायीहरुले मजदुर समस्याले गर्दा वर्षौंदेखि गर्दै आएको उद्योग बन्द गर्नुपर्ने अवस्था आएको बताएका हुन् ।
मजदुर समस्याले घरेलु तथा साना उद्योगहरु झन् ठूलो समस्यामा रहेको उनीहरुको भनाइ थियो ।
कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित रामप्रसाद प्रजापतिले उद्योग व्यवसाय क्षेत्रको समस्या समाधान गर्न सम्पूर्ण उद्योगी व्यवसायीहरु एकजुट भई अघि बढ्नुपर्ने बताए ।
उनले देशका उद्योग व्यवसायमा मजदुर समस्या समाधान गर्न सरकारले रोजगारीकै लागि विदेश जाने युवाहरुलाई निरुत्साहित गर्नुपर्ने माग गरे ।
त्यस्तै संघका प्रथम उपाध्यक्ष प्रदीप श्रेष्ठले मजदुर समस्याकै कारण सञ्चालनमा रहेका उद्योगहरु न्यून हुँदै आएको बताए ।
उनले मजदुर समस्यालाई सम्बोधन गर्न युवाहरुलाई तालिम दिनुपर्ने धारणा राखे ।
त्यस्तै भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष वीरेन्द्र जतीले संघले विभिन्न तालिम दिए पनि युवाहरु उद्योग व्यवसायमा काम गर्न उत्साहित नदेखिएको बताए ।
विदेश जाने युवाहरुलाई देशमै काम गर्ने वातावरण निर्माणमा सरकारले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रजापतिसँगै संघको प्रथम उपाध्यक्षमा निर्वाचित भक्तपुर घरेलु तथा साना उद्योग संघका पूर्वअध्यक्ष प्रदीप श्रेष्ठ, सदस्यमा निर्वाचित संस्थापक कोषाध्यक्ष राजेन्द्रप्रसाद प्रजापतिलाई सम्मानसहित बधाई ज्ञापन गरिएको थियो ।
त्यस्तै महिला उद्यमी संघको अध्यक्ष र सदस्यमा निर्वाचित क्रमशः संघका महिला उद्यमी समिति सचिव चन्द्रकला बाँस्तोला र कार्य समिति सदस्य चित्रा किसीलाई पनि सम्मानसँगै बधाई ज्ञापन गरिएको थियो ।
कार्यक्रममा भक्तपुर घरेलु तथा साना उद्योग संघको २७ औं र महिला उद्यमी समितिको २५ औं वार्षिक साधारणसभाको सिहावलोकनसमेत गरिएको थियो ।