मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालय बनाइने, हेटौँडा अस्पतालको विशिष्टिकृत भवन उद्घाटन

0

हेटौँडा: बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निकट भविष्यमै विश्वविद्यालयको रूपमा विकास गर्ने भएको छ। प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले हेटौँडा अस्पताल परिसरमा नवनिर्मित २०० शय्याको विशिष्टिकृत सेवा भवनको उद्घाटन गर्दै यो जानकारी दिए।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले प्रतिष्ठानलाई विश्वविद्यालय रूपान्तरणको काम सुरु भइसकेको बताए। “हाल यहाँ भर्ना भएका विद्यार्थीहरूले प्रमाणपत्र लिने बेलासम्ममा यो संस्था मदन भण्डारी स्वास्थ्य विज्ञान विश्वविद्यालयको रूपमा विकास भइसकेको हुनेछ,” उनले भने। प्रदेश सरकारले यसका लागि आवश्यक प्रक्रिया अघि बढाइसकेको र चाँडै पूर्णता पाउने उनले विश्वास व्यक्त गरे।

मुख्यमन्त्री बानियाँले लोकतन्त्र गरिबको शासन व्यवस्था भएको उल्लेख गर्दै गरिब नागरिकलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको बताए। हेटौँडा अस्पतालमा जनशक्ति र भौतिक पूर्वाधारको अभाव हुन नदिने प्रतिबद्धता जनाउँदै उनले चुनावको बेला राजनीति स्वाभाविक भए पनि स्वास्थ्य र शिक्षा जस्तो संवेदनशील क्षेत्रमा राजनीति हुन नहुने धारणा राखे।

प्रतिष्ठानले हेटौँडा अस्पतालमा मात्र सीमित नभई प्रदेशका १३ वटै जिल्लाका अस्पतालहरूमा विशेषज्ञ सेवा विस्तार गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्रीले प्रतिष्ठानबाट उत्पादित जनशक्तिले प्रदेशका पालिकास्तरका स्वास्थ्य संस्थालाई समेत बल पु¥याउने विश्वास व्यक्त गरे। साथै, उनले स्वास्थ्य शिक्षालाई ‘सिक्दै र सिकाउँदै’ को मोडेलमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याए।

उद्घाटन समारोहमा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले प्रदेशका सबै जिल्ला अस्पताल तथा स्वास्थ्य संस्थामा औषधि र उपकरणको अभाव हुन नदिने प्रतिबद्धता जनाए। गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई डाक्टर बन्न प्रदेश सरकारले छात्रवृत्तिलगायतका कार्यक्रम सञ्चालन गरेको बताउँदै उनले उपचारको अभावमा कुनै पनि नागरिकले ज्यान गुमाउनु नपर्ने वातावरण बनाइने उल्लेख गरे।

कार्यक्रममा पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, पूर्वस्वास्थ्यमन्त्री एकालाल श्रेष्ठ लगायतले नवनिर्मित भवनले अस्पतालको सेवा विस्तारमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे।

सहरी विकास तथा भवन कार्यालय मकवानपुरका प्रमुख इन्जिनियर भूपेन्द्रकुमार यादवका अनुसार भ्याटसहित कुल २६ करोड ६४ लाख २५ हजार २८० रुपैयाँको लागतमा यो भवन निर्माण गरिएको हो।