मधेशसँग सम्बन्ध प्रगाढ बनाउन सर्लाही–४ बाट उम्मेदवारी : गगन थापा

4

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेशसँगको सम्बन्धलाई औपचारिक सीमामा सीमित नराखी अझ प्रगाढ बनाउने उद्देश्यले सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएको बताएका छन् ।

उम्मेदवारी मनोनयन दर्ता गरेको छ दिनपछि सोमबार निर्वाचन क्षेत्र पुगेकै दिन भिडियो सन्देश जारी गर्दै सभापति थापाले मधेशका मुद्दा बुझेर त्यसको समाधान खोज्नु नै समग्र देशको समस्या समाधानतर्फको बाटो हुने विश्वास व्यक्त गरे ।

“मधेशको प्रतिनिधित्व गर्दै त्यहाँका मुद्दा बुझ्दा प्रकारान्तरले नेपालको समग्र समस्या समाधान गर्न सकिन्छ भन्ने विश्वास लिएको छु,” सभापति थापाले भने ।

पहाडबाट झरेको परिवार र काठमाडौंमा हुर्किएको पृष्ठभूमि भएको उल्लेख गर्दै उनले मधेशबाट उम्मेदवार बनेर त्यहाँसँग अझ नजिकिन चाहेको बताए । मधेशका आवाज काठमाडौंसम्म पुर्‍याउने र काठमाडौंका कुरा मधेशमा सुनाउने सेतुको भूमिका निर्वाह गर्ने आफ्नो चाहना रहेको उनको भनाइ थियो ।

काठमाडौं–४ का मतदाताप्रति कृतज्ञता

सभापति थापाले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का मतदाताले आफूलाई तीनपटक निर्वाचित गरेकोप्रति आभार व्यक्त गरे । “एउटा परिवारजस्तै माया यो क्षेत्रबाट सधैं पाएँ । जीवनका महत्त्वपूर्ण चरणहरू यहीँ बिते,” उनले भने ।

सभापति निर्वाचित भएपछि निर्वाचन क्षेत्र परिवर्तन गर्नु नहुने सुझावहरू धेरै आएको उल्लेख गर्दै उनले उत्तेजनाको राजनीति आफूलाई स्वीकार्य नभएको स्पष्ट पारे । अधिकार सुनिश्चित नभएसम्म समाजमा एकता सम्भव नहुने टिप्पणी गर्दै उनले समावेशी र सन्तुलित राजनीतिको आवश्यकता औंल्याए ।