Home समाचार मध्यपुर थिमी नगरपालिकामा दस्तखत गर्ने विषयमा विवाद, नक्सा शाखाको काम ठप्प
भक्तपुर : मध्यपुर थिमि नगरपालिकामा पाँच दिनदेखि घरको नक्सा दर्ता प्रक्रिया ठप्प छ। नक्सा दर्ता र पासको प्रक्रियामा क–कसले दस्तखत गर्ने भन्ने अन्योलले मध्यपुर थिमीमा साउन १ गतेदेखि नक्सा दर्ता प्रक्रिया ठप्प भएको हो ।
स्थानीय मन्त्रालयले पठाएको स्थानीय तह सञ्चालन कार्यविधिमा नक्सा पास गर्दा कार्यकारी अधिकृतले दस्तखत गर्ने व्यवस्था गरिएको छ।
निर्वाचनबाट जनप्रतिनिधि चयन भएर आएपछि जनप्रतिनिधिले नक्सामा दस्तखत गर्न पाउनुपर्ने माग गरेका छन्। नगरपालिकामा नक्सा दर्ता प्रक्रिया अवरुद्ध हुँदा नयाँ घर निर्माणका लागि आउने सेवाग्राही मर्कामा परेका छन्।
नक्सा शाखाको काम ठप्प हुँदा घरको नक्सा दर्ताका लागि नापीको ‘ब्लु प्रिन्ट’ नक्सा र ‘ट्रेस’ नक्साको लागि सिफारिससमेत रोकिएको छ। नक्सा फाँटका एक प्राविधिकले नक्सा दर्तादेखि पाससम्मको प्रक्रियामा ‘कसको अधिकार के’ भन्ने विषयमा अन्योल भएकाले नक्सा शाखाको काम ठप्प भएको बताए।
नाम उल्लेख नगर्ने शर्तमा उनले भने, ‘नगरपालिकामा दर्ता भइसकेका पुराना नक्साको कामसमेत दस्तखत विवादले रोकिएको छ।’ नगरपालिकाका कार्यकारी अधिकृत कमल ज्ञवालीले भने विवादका कारण नभई आर्थिक वर्ष परिवर्तन भएका कारण नक्सा दर्ता रोकिएको बताए। उहाँले आर्थिक वर्ष परिवर्तनसँगै नयाँ प्रक्रिया र दरभाउ लागु गर्ने क्रममा प्रत्येक वर्ष एक हप्ता नक्सा दर्ता बन्द गर्ने गरिएको तर्क गरे।
नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठसँग पटकपटक फोन गर्दा उनी सम्पर्कमा आएनन्।। यसैबीच नगरपालिकाले सूचना प्रकाशन गरी हाललाई नक्सा दर्ता प्रक्रिया रोकिएको जनाएको छ। सूचना जारी गर्दै नक्सा दर्ताको लागि आवश्यक नापीको ‘ब्लु प्रिन्ट’ र ‘ट्रेस’ नक्साको सिफारिस दिने काम जारी रहेकाे तर नक्सा दर्ताको काम भने हाललाई रोकिएको जनाएको हो।
Related