काठमाडौं ।
अन्य दिन अपराध न्युनिकरण गर्नदेखि अपराधी समाउन अहोरात्र खटिँदै आएका प्रहरीहरु शनिबारको विहान भने केही समय निकालेर सामाजिक काममा व्यस्त देखिन थालेका छन ।
पछिल्लो समय नेपाल प्रहरीदेखि सशस्त्र प्रहरी र नेपाली सेना शहरभित्रका नदीनाला सरसफाईमा देखिन थालेको धेरै भइसकेको छ ।
शनिबार भने महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख र मातहतका प्रहरी प्रभागमा कार्यरत प्रहरी जवानदेखि अधिकृतहरु र महानगरीय प्रहरी वृत्त ठिमीका प्रमुखदेखि र मातहतका प्रभागका करीव एकसय प्रहरी जवान र अधिकृतहरु मनोहरा नदी किनारमा आफैं पलाएको (नाबो) फाँड्न व्यस्त देखिए ।
बोट छिप्पिन नपाई गाँजाको नाबो फाँडेपछि त्यसमा गाँजा फल्न नपाउने र गाँजा प्रयोग गर्ने लागुपदार्थका दुव्र्यसनीहरु कमी हुने प्रहरीको अनुमान छ ।

‘नदी किनार र आसपासका व्यक्तिगत जमीनमा हरेक वर्षायामताका आफैं उम्रिएको गाँजाको नाबो नस्ट गर्नु पनि अप्रत्यक्षरुपमा लागुपर्दाथ दुव्र्यसनीको संख्या घटाउनु हो’, महानगरीय प्रहरी प्रभाग कोटेश्वरका प्रमुख प्रहरी निरीक्षक राजु लामाले भने ।
‘गाँजाको बोटमा गाँजा फलेर छिप्पिन दिनु भनेको लागुपदार्थका दुव्र्यसनीहरुलाई सजिलैसंग गाँजा टिपेर प्रयोग गर्ने वातावरण सिर्जना गर्नु हो’ निरीक्षक लामाले भने ‘त्यसैले विगत केही वर्षदेखि प्रहरीले मुलुकभरीका गाँजाका बोट बेलैमा नष्ट गर्दै आएको हो ।’
शनिबार आयोजित मनोहरा सरसफाई तथा सम्पदा बचाउ नागरिक अभियानको ६७ औ हप्ताको अवसरमा मनोहरा नदी सफाईको साथै नदी किनारमा उम्रिएका गाँजाको नाबो फाड्ने कार्य गरियो ।
अभियानका संयोजक रुद्र पौडेलको संयोजकत्वमा आयोजित सो कार्यक्रममा पुर्व उद्योगमन्त्री तथा वर्तमान सांसद महेश बस्नेत, महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्ले, ठिमी वृत्तका प्रमुख मिलन केसी, कोटेश्वर प्रभाग प्रमुख राजु लामा, काँडाघारी प्रभाग प्रमुख हरि ओझालगायत स्थानीय संघसंस्थाका प्रतिनिधिहरु सहभागी थिए ।

गाँजाको नाबो बोट फँडानी कार्यमा प्रहरीलाई कोटदेवी टोलसुधार समिति, विद्यानगर टोलसुधार समिति, विभिन्न विद्यालयका विद्यार्थीहरु, सफाइ अभियन्ताहरुले सघाईराखेका थिए ।
‘स्वच्छ, हराभरा हाम्रो प्यारो मनोहरा’ नाराका साथ आयोजित दुईघण्टा लामो सो सरसफाई र गाँजाको नाबो बोट फडानी कार्यक्रममा करीव चारहजार बोट फडाँनी गरिएको बताइएको छ ।
हरेक हप्ताको नदी सरसफाई कार्यक्रममा सहभागिता जनाएवापत नयाँबानेश्वर र ठिमी प्रहरी वृत्तका प्रमुख, प्रहरी नायव निरीक्षकद्वय काफ्ले र केसीलाई आयोजकको तर्फबाट पुर्वमन्त्री बस्नेतले सम्मान पनि गरेका थिए ।
पुर्वमन्त्री बस्नेतले नदी सफा बनाई नदी किनारलाई गाँजाको बोट मुक्त बनाउनसके लागुपदार्थ दुव्र्यसनमुक्त नदीकिनार बनाउन सकिने धारणा व्यक्त गरे ।







































