काठमाडौँ । एसवाई इन्भेस्टमेन्ट प्रालिको आयोजनामा सम्पन्न ‘फेस अफ एसवाई २०८२ (ब्रान्ड एम्बेसडर हन्ट)’ प्रतियोगिताको उपाधि मलैसा आचार्यले जितेकी छन् । राजधानीको वानेश्वरस्थित एभरेष्ट होटेलमा शुक्रवार सम्पन्न ग्राउन्ड फिनालेमा कुल दुई करोड रुपैयाँभन्दा बढी पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ ।
एसवाई प्यानल, एसवाई कस्मेटिक, एसवाई बजार र एसवाई युपिभिसीको ब्रान्ड प्रवर्द्धनका लागि आयोजना गरिएको उक्त प्रतियोगिता नेपालकै पहिलो ठुलो ब्रान्ड एम्बेसडर हन्ट भएको आयोजकको दाबी छ । एसवाई प्यानल नेपालका निर्देशक विमलराज गोसाईंले प्रतियोगितामा प्रदान गरिएको पुरस्कार राशि नेपालकै मिस नेपाल प्रतियोगिताभन्दा पनि बढी रहेको बताए ।
कार्यक्रमबाट मुख्य तीन जना ब्रान्ड एम्बेसडर चयन गरिएको थियो । टाइटल विजेता मलैसा आचार्यले पाँच लाख रुपैयाँ नगद पुरस्कारका साथै एक वर्षका लागि एक करोड रुपैयाँ बराबरको कनट्र्याक्ट प्राप्त गरेकी छन् । फस्ट रनर अप सारा लामा र सेकेन्ड रनर अप अपि योन्जन घोषित भए । उनीहरूलाई क्रमशः चार लाख र तीन लाख रुपैयाँ नगद पुरस्कारसहित ५० लाख र ३० लाख रुपैयाँ बराबरको कनट्र्याक्ट प्रदान गरिनेछ । साथै, बाँकी उत्कृष्ट सात जनालाई पपुल्यारिटी अवार्डअन्तर्गत प्रति व्यक्ति एक लाख पचास हजार रुपैयाँ प्रदान गरिएको छ ।
प्रतियोगिता चरणबद्ध रूपमा सञ्चालन गरिएको थियो । पहिलो चरणमा सहभागीहरूले एसवाई थिममा आधारित भिडियो तयार गरी डिजिटल अडिसनमा भाग लिनु परेको थियो । त्यसमध्ये उत्कृष्ट ५०० जना दोस्रो चरणमा छनोट भए । दोस्रो चरणपछि उत्कृष्ट २५ जनालाई फाइनल अडिसनमा सहभागी गराइएको थियो । अन्तिम चरणमा सहभागीहरूको मूल्याङ्कन सामाजिक सञ्जालमा प्राप्त प्रतिक्रिया र निर्णायकहरूको निर्णयका आधारमा गरिएको थियो ।
प्रतियोगितामा महिला र पुरुष दुवैको सहभागिता रहेको थियो । सहभागीहरूले एसवाई बजार र एसवाई कस्मेटिकका फेसबुक, इन्स्टाग्राम तथा टिकटक पेज फलो गरी क्रियटिभ भिडियो तयार गर्नुपर्ने व्यवस्था गरिएको थियो ।
आयोजक एसवाई ग्रुप अफ कम्पनी दक्षिण कोरियामा आधारित बहुराष्ट्रिय कम्पनी हो । यस समूहअन्तर्गत एसवाई प्यानल नेपाल, एसवाई बजार, एसवाई इन्टरप्राइजेजलगायतका कम्पनीहरू नेपालमा सञ्चालनमा रहेका छन् ।








































