महायज्ञमा सङ्कलित रकम हरेक दिन सार्वजनिक दानवीरहरू खुसी 

199

भक्तपुर । महायज्ञ होस वा अन्य कुनै पनि सांस्कृतिक कार्यक्रम नै किन नहोस् जहाँ सङ्कलन भएको रकम कार्यक्रम समापन पछि मात्र सार्वजनिक गर्ने गरिन्छ । यो आयोजकको प्रकृति नै हो । अझ कतिपय आयोजकहरूले त सार्वजनिक नै गर्ने गरेको पाइँदैन । सार्वजनिक गरे तापनि कति कार्यक्रम घाटामा रहेको देखाउने कति नाफा रकम एकदमै न्यून देखाउने गरेको हामी पर्याप्त भेट्ने गरेका छौ ।

प्रत्येक दिन सङ्कलन भएको रकम सार्वजनिक गर्ने कार्यक्रम विरलै भेटिरहेको आजको अवस्थामा भने वाल योगेश्वर श्री विजय मूर्ति महाराज श्रीको मुख्य आयोजनामा सञ्चालन भएको भक्तपुरको महायज्ञमा भने प्रत्येक दिन सङ्कलन भएको दान रकम सार्वजनिक गर्ने गरिएको छ ।

महायज्ञको मुख्य प्रबेशद्वारको छेउमै ठुलो सूचना पार्टी छ । उक्त सूचना पार्टीमा कम्प्युटर प्रिन्ट गरिएको पेपरले भरिएको छ । नजिक गएर हेरियो भने कुन भक्तजनले कति दान गर्नुभयो स्पष्ट रूपमा देख्न सकिन्छ ।

सङ्कलन भएको रकमलाई सूचना पाटीमार्फत बाट मात्र सार्वजनिक गर्ने गरिँदैन, मौखिक रूपमा पनि महाराज श्री ले आम सहभागी भक्तजनको अगाडी सार्वजनिक गर्ने गरेका छन् ।

महायज्ञका संयोजक समेत रहेका स्थानीय केशर बहादुर खड्काले भने – “यहाँ अहिले सम्म धेरै पटक महायज्ञको आयोजना भयो तर पारदर्शी रूपमा प्रत्येक दिन दान रकम सार्वजनिक गर्ने महायज्ञ पहिलो पटक देखे ।”

त्यस्तै अर्का स्थानीय मञ्जु ढुङ्गानाले पनि महायज्ञको सबै कार्यहरू प्रशंसायोग्य रहेको बताएकी छन् । “महायज्ञको सुरु देखिको कार्य नै लोभलाग्दो छ । महायज्ञको प्रचार सँगै हाम्रो गाउँको पनि प्रचार भएको छ । अझ यहाँको हरेक कार्य पारदर्शिता हुदा खुसी लागेको छ । आशामा छौ हाम्रो गाउँमा नै छिट्टै आश्रम बन्ने छ ।”

संयोजक खड्का मात्र नभएर यसरी प्रत्येक दिन सङ्कलन हुने गरेको दान रकम सार्वजनिक हुने गरेको यस प्रकारको कार्यक्रम पहिलो रहेको अन्य स्थानीयहरूले पनि बताउने गरेका छन् ।

जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं। ९ ताथलीमा गत आश्विन ११ गतेदेखि सञ्चालन भइरहेको श्रीमद्भागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञमा बिहान ६ बजेदेखि राति १० बजे सम्म कार्यक्रम हुने गर्दछ । महायज्ञ आगामी २७ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।