जीवन गिरी
भक्तपुर । रेडक्रस तथा रेडक्रिसेण्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासंघका महासचिव एल्हाद एस सीले नेपाल रेडक्रस सोसाइटीको ५६ औं स्थापना दिवसको अवसरमा आयोजित एक विशेष कार्यक्रमको आज केन्द्रीय कार्यालयमा रेडक्रस झण्डोत्तोलन गरी शुभारम्भ गर्नुभयो ।
“रेडक्रस, सबै ठाउँमा सबैका लागि” भन्ने नाराका साथ आयोजित कार्यक्रममा उहाँले नेपाल रेडक्रस सोसाइटीमा २५ वर्ष सेवा गरेका कर्मचारीहरुलाई दोसल्ला ओडाइ सम्मान गर्नुका साथै रेडक्रस दिवसमा आयोजिता फुटसललगायतका प्रतियोगिताका विजयीहरुलाई शिल्ड, प्रमाण पत्र र पुरस्कार प्रदान गर्नुभएको थियो ।
सोही कार्यक्रमलाई प्रम्ुख अतिथिको रुपमा सम्बोधन गर्दै महासचिव एस सीले भन्नुभयो–“रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ राष्ट्रिय सोसाइटीहरुको समष्टी रुप हो । अहिले यसले रेडक्रसको आधारभूत सिद्धान्तप्रतिको निष्ठालाई बढावा गर्दै विविधताको प्रवद्र्धन, आप्रवासीहरुको लागि थप सहयोग गर्ने जस्ता क्षेत्रमा बढी ध्यान केन्द्रित गरिरहेको छ ।” उहाँले नेपाल रेडक्रस सोसाइटीले विपद् र द्वन्द्वका समयमा समुदायका व्यक्तिको आत्मसम्मानलाई विचार पुर्याउँदै सेवाका विविध गतिविधिहरु सञ्चालन गर्दै आएको बताउनुभयो ।

महासचिव एस सी नेपाल रेडक्रस सोसाइटीको ५६ औं स्थापना दिवसमा सहभागी हुन र गोरखा भूकम्पपश्चात रेडक्रसले गरेका सहयोग गतिविधिहरुका बारेमा जानकारी लिने उद्देश्यले नेपालको चार दिने भ्रमण हुनुहुन्छ ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले २०२० साल भाद्र १९ गते स्थापना भएको नेपाल रेडक्रस अन्तर्राष्ट्रिय रेडक्रस अभियानको अभिन्न अंगको रुपमा रहेको बताउनुभयो । नेपाल रेडक्रसले हाल महासंघ र राष्ट्रिय सोसाइटीहरुको सहकार्यमा सेवा र विकासमूलक गरी ९० भन्दा बढी परियोजना र कार्यक्रमहरु सञ्चालन गरिरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा सोसाइटीका उपमहामन्त्री हरिप्रसाद न्यौपानेले नेपाल रेडक्रसले समुदाय पु¥याएको सेवाले रेडक्रस अभियानको छवि बृद्धिमा सहयोग पुगेको बताउनुभयो । उहाँलेरेडक्रसका गतिविधिहरुमा समुदायको सहभागिता र जवाफदेहिता अभिबृद्धिका लागि हटलाइन, रेडियो कार्यक्रम, फेसबुक पेजजस्ता सञ्चार माध्यमहरुमार्फत जानकारी प्रदान गरिरहेको बताउनुभयो ।
नेपाल रेडक्रसको बृहत सञ्जालले समुदायमा उदाहरणीय कामहरु गरिरहेको बताउँदै आइसीआरसीका नेपाल प्रमुख अन्द्रे पकेले विशेष गरी आइसीआरसीले द्वन्द्वप्रभावित समुदायको सहयोगका लागि गतिविधिहरु गर्र्दै आएको बताउनुभयो ।
साझेदार राष्ट्रिय सोसाइटीहरुको प्रतिनिधित्व गर्दै जापनीज रेडक्रसका नेपाल प्रमुख काजिओ इगारासीले नेपालमा ठुलो मानवीय विपत्ती भूकम्पका समयमा प्रभावित विभिन्न जिल्लामा प्रभावित समुदायको लागि नेपाल रेडक्रसँग भएको सहकार्यको प्रशंसा गर्नुभयो ।
सोही अवसरमा नेपाल रेडक्रस सोसाइटी कर्मचारी कल्याण कोषको आयोजनामा २५ वर्ष सेवा गरिसकेका कर्मचारीहरुको सम्मान, कोषका सदस्यका छोरा छोरीहरुका लागि शैक्षिक प्रोत्साहन पुरस्कार र बिभिन्न खेल प्रतियोगिताका विजयीहरुलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।
यसै गरी रेडक्रस दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटीका ललितपुर, कास्की, सिन्धुपाल्चोक, संखुवासभा जिल्ला शाखाहरुद्वारा बिरामीहरुलाई फलफूल वितरण, रक्तदान कार्यक्रम, ¥याली र रेडक्रस परिचयात्मक अभीमुखीकरण गतिविधिहरु सम्पन्न भएको जानकारी प्राप्त भएको छ ।








































