वालिङ । स्याङ्जाको वालिङ नगरपालिका–११ का महिलाहरूलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठा पाठी वितरण गरिएको छ । स्थानीय कागतीभन्याङ स्वावलम्बी महिला बाख्रा पालन समूहका सदस्यहरूलाई बीउ पाठी तथा बीउ बोका वितरण गरिएको हो ।
महिला सदस्यहरूलाई बीउ पाठी वितरण गर्नु हुँदै वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रेले महिलाहरूलाई उत्पादनमा जोड्ने अभियानमा पालिका लागि परेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“साना किसान तथा महिलाहरूलाई उत्पादनमा जोड्ने अभियानका साथ नगरपालिकाले काम गरिरहेको छ ।”
सो अवसरमा उपप्रमुख तिवारीले स्थानीय उत्पादनको बजारीकरणका लागि पैँचो कार्यक्रम सञ्चालन गर्न लागिको बताउनु भयो । १४ वटै वडाका कृषकले उत्पादन गरेका बस्तुलाई सहज रूपमा बजार सम्म पुर्याउने पालिकाको योजना रहेको उहाँको भनाइ छ । गाउँ गाउँमा उत्पादन भएका सामाग्रीहरूको सहज बजारीकरण पश्चात् उत्पादन बढ्ने तिवारीको विश्वास छ ।
कार्यक्रममा बोल्नुहुँदै वडा नं.११ का वडा अध्यक्ष डण्डपानी पङ्गेनीले महिलाहरूलाई उत्पादनमा जोड्न बाख्रा वितरण गरिएको जानकारी दिनुभयो । साना किसानलाई उत्पादनमा जोड्न सके मात्रै महिलाहरू आर्थिक रूपमा सबल हुने उहाँको भनाइ छ । ग्रामीण क्षेत्रको विकासका लागि महिला उत्पादनमा जोडिन जरुरी रहेको पङ्गेनीले बताउनु भयो ।
आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्तर्गत भोकालाई एक छाक भोजन होइन , जिउने जुक्ति सिकाऔँ भन्ने मुलनाराका साथ वालिङ नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालन भइरहेको वालिङ कृषि विकास परियोजना अन्तरगत बीउका रूपमा पाठा पाठी वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
बाख्राको नस्ल सुधार गरी आम्दानी बढाउन पाठीसँगै बोका वितरण गरिएको वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिनुभयो । नस्ल सुधारका लागि कृषकलाई सचेत गराउने र पालिकाले सहयोग गर्ने काम भइरहेको उहाँको भनाइ छ ।
कार्यक्रम अन्तरगत कागतीभन्याङ स्वावलम्बी महिला बाख्रा पालन समूहका २१ जना सदस्यहरूलाई पाठा पाठी वितरण गरिएको परियोजनाले जनाएको छ । उनीहरूलाई आवश्यक तालिम सिकाउँदै उत्पादनमा जोड्ने परियोजनाका कर्मचारी सुस्मिता पौड्यालले जानकारी दिनुभयो ।
वालिङ नगरपालिकाको वडा नं.१ देखि १४ सम्म सञ्चालन भएको परियोजनाले महिला तथा साना किसानलाई उत्पादनमा जोड्न विभिन्न क्रियाकलाप गर्दै आएको छ ।








































