महेन्द्र शान्ति माविमा छात्रवृत्ति कोष

1463

भक्तपुर । बालकोट क्षेत्रको एकमात्र सामुदायीक माद्यमिक विद्यालय, महेन्द्र शान्ति माविका विपन्न परिवारका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्धेश्यले स्थानीय शिक्षासेवी प्रा.डा.रामविक्रम सिजापतिले ५० हजार रुपैयाँ राशीबाट स्व.शान्ता सिजापति छात्रवृत्ति कोष खडा गरेका छन् ।

प्रा.डा.सिजापतिले आफ्नी स्वर्गीय धर्मपत्नी शान्ता सिजापतिको नाउँमा विद्यालयमा खोलिएको छात्तवृत्ति कोषको व्याजबाट सो विद्यालयको नर्सरीदेखि ८ कक्षासम्म एक÷एक जना विपन्न र जेहेन्दार विद्यार्थीलाई जनही ५ सय रुपैयाँका दरले हरेक वर्ष छात्रवृत्ति दिइने विद्यालयका प्रधानाध्यापक गोपालविक्रम थापाले बताए । प्रधानाध्यापक थापाका अनुसार विद्यालयको वार्षिकोत्सवको अवसरमा सो छात्रवृत्ति दिइने छ ।

यसका साथै प्रा.डा.सिजापतिले सोही विद्यालयका ९ र १० का उत्कृष्ट विद्यार्थीलाई प्रदान गर्ने गरि चन्द्र विक्रम र लोक राज्यलक्ष्मी सिजापति छात्रवृत्ति पनि स्थापना गरेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमन्त कुमार कार्कीको पहलमा प्रा.डा.सिजापतिले त्यस भेगको एकमात्र पुरानो माद्यमिक विद्यालयमा सो छात्रवृत्ति कोष खडा गरेका हुन ।

विद्यालयमा सो कोष स्थापना गरिएको सम्झौतापत्र प्रा.डा.सिजापतिले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमन्तकुमार कार्कीलाई मंगलबार विद्यालयमा आयोजित एक कार्यक्रममा हस्तान्तरण गरेका थिए ।

यसअघि सो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमन्तकुमार कार्कीले आफ्ना स्वर्गीय बुबा कृष्णबहादुर कार्की, स्वर्गीय आमा हीराकुमारी कार्की र स्वर्गीय दाजु अर्जुन कार्कीको स्मृतिमा गतवर्ष ५ लाख रुपैयाँको अक्षयकोषबाट छात्रवृत्ति कोष स्थापना गरेका थिए ।

सो कोषबाट आउने ब्याजबाट हरेक वर्ष विद्यालयको नर्सरीदेखि ९ कक्षासम्मका उत्कृष्ट र जेहेन्दार भएका एक÷एकजना छात्र÷छात्रालाई छात्रवृत्ति प्रदान गरिने कोषका संस्थापक कार्कीले बताए ।

गतवर्ष नयाँ प्रधानाध्यापक आएसंगै विद्यालयमा छात्रवृत्ति कोष स्थापना गर्ने क्रम क्रमशः थपिँदै गएको विद्यालयले जनाएको छ ।