जलेश्वर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी प्रतिस्पर्धा अत्यन्तै रोचक बन्ने भएको छ । विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ४१ जना उम्मेदवार मैदानमा उत्रिएपछि यस क्षेत्रको चुनावी समीकरण थप जटिल बनेको छ ।
राजनीतिका जानकार तथा सेवा निवृत्त सहप्राध्यापक ध्रुव रायका अनुसार क्षेत्र नम्बर ३ मा मुख्यतः नेपाली कांग्रेसका बजरङ्ग नेपाली, नेकपा (एमाले) का मनोज सिंह, जनता समाजवादी पार्टी नेपालकी डा. मिनाक्षी ठाकुर, राष्ट्रिय स्वतन्त्र पार्टीका उज्ज्वल झा र स्वतन्त्र उम्मेदवार रामआधार कापरबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ । उहाँले मतदातामा उल्लेख्य उत्साह देखिएको उल्लेख गर्दै सचेत भएर योग्य उम्मेदवार छान्नुपर्नेमा जोड दिनुभयो ।
दलका शीर्ष नेताहरूले मनोनयन दर्ताको अन्तिम समयमा उम्मेदवार हेरफेर गरेपछि असन्तुष्टि बढेको र त्यसकै परिणामस्वरूप स्वतन्त्र उम्मेदवारीको संख्या बढ्दा प्रतिस्पर्धा थप चुनौतीपूर्ण बनेको रायको भनाइ छ ।
पुराना एजेन्डाप्रति मतदाताको चासो घट्दो
उम्मेदवारहरू शिक्षा, स्वास्थ्य, कृषि, सडक, पुलपुलेसा र रोजगारीजस्ता आधारभूत एजेन्डा लिएर घरदैलो अभियानमा सक्रिय छन् । तर मतदाता भने विगतकै दोहोरिएका एजेन्डा बोकेर आउने उम्मेदवारप्रति त्यति आकर्षित देखिँदैनन् ।
२०७४ र २०७९ को निर्वाचनमा यसै क्षेत्रबाट लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष (हाल जसपा नेपालका संरक्षक) महन्थ ठाकुर निर्वाचित हुनुभएको थियो । तर उहाँ राष्ट्रिय सभातर्फ लागेपछि जसपा नेपालले मनोनयनको अन्तिम समयमा डा. मिनाक्षी ठाकुरलाई उम्मेदवार बनाएको हो ।
परिवारवादको आरोप, बागी उम्मेदवारी
डा. मिनाक्षी ठाकुरलाई उम्मेदवार बनाएपछि जसपाका नेता तथा पूर्वकृषिमन्त्री हरिनारायण यादवले पार्टीमा परिवारवाद हाबी भएको आरोप लगाउँदै स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । यादवले पार्टी विधानविपरीत पार्टीको साधारण सदस्यसमेत नरहेकी व्यक्तिलाई उम्मेदवार बनाइएको दाबी गर्दै आफ्नो उम्मेदवारी त्यसकै विरोधका रूपमा रहेको बताउनुभयो ।
यद्यपि डा. ठाकुरले भने पार्टी संरक्षक महन्थ ठाकुरले सुनिश्चित गरिदिएका अधिकारलाई पूर्णता दिन र शिक्षा, स्वास्थ्य, रोजगारी तथा पूर्वाधार विकासलाई प्राथमिकता दिन उम्मेदवारी दिएको स्पष्ट पार्नुभएको छ ।
स्वतन्त्र र नयाँ अनुहारको उपस्थिति
नेकपा (एमाले) का अनुभवी नेता रामआधार कापरले पनि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । संविधान सभा सदस्य, प्रतिनिधि सभा सदस्य र जलेश्वर नगरपालिकाको प्रमुखका लागि पटक–पटक चुनाव लडिसक्नुभएका कापरले पार्टीबाट एकल सिफारिस हुँदाहुँदै टिकट नपाएको कारण आफू स्वतन्त्र रूपमा मैदानमा उत्रिएको बताउनुभयो ।
नेपाली कांग्रेसले अघिल्ला दुई निर्वाचनमा उम्मेदवारी नदिई महन्थ ठाकुरलाई सघाउँदै आएको भए पनि यस पटक बजरङ्ग नेपालीलाई उम्मेदवार बनाएपछि प्रतिस्पर्धा झनै चर्किएको छ । नेता नेपालीले किसान समस्या, बाढी–सुख्खा नियन्त्रण, चुरे संरक्षण, शिक्षा–स्वास्थ्य सुधार, सुशासन र भ्रष्टाचार न्यूनीकरणलाई आफ्नो मुख्य एजेन्डा बनाएको बताउनुभयो ।
रास्वपाबाट उज्ज्वल झा, प्रतिस्पर्धा थप पेचिलो
२०७९ को प्रदेश सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका उज्ज्वल झा यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेपछि चुनावी समीकरण थप रोचक बनेको छ । नयाँ विकल्प र परिवर्तनको एजेन्डासहित आफू चुनावमा आएको झाको भनाइ छ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहको पुख्र्यौली गाउँ एकडारा गाउँपालिकाका उज्ज्वल झालाई उम्मेदवार बनाएपछि क्षेत्र नम्बर ३ मा रास्वपाको उपस्थितिले विशेष चासो बढाएको छ ।
यस क्षेत्रमा ५९ हजार ९५० पुरुष र ५० हजार ८८६ महिला गरी कुल १ लाख १० हजार ४३६ मतदाता छन् । नेकपा (एमाले) जनमत पार्टी, राप्रपा, आम जनता पार्टीलगायत अन्य दलबाट पनि नयाँ अनुहारहरू मैदानमा उत्रिएका छन् ।










































