गण्डकी ।
पोखराको पर्यटन छवि प्राकृतिक सुन्दरतासँगै विविध मेला–महोत्सवले अझै आकर्षक बन्दै गएको छ। शनिबार मात्रै पोखरा पर्यटन परिषद्को आयोजना तथा नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाको प्रवर्धनमा दोस्रो दाइँ महोत्सव सम्पन्न भएको छ। पछिल्ला वर्षमा पर्यटनसम्बद्ध संघ–संस्थाले आयोजना गर्ने महोत्सवले पोखराको व्यापार–व्यवसाय तथा पर्यटकीय गतिविधि झनै चलायमान बनाइदिएको छ।
कृषि र पर्यटनलाई जोड्ने प्रयास
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीका अनुसार परिषद्ले २०६१ सालदेखि ‘पोखरा सबै मौसमका लागि’ नारासहित असार १५ मा असारे रोपाइँ महोत्सव गर्दै आएको छ। कृषि पर्यटनलाई एकसाथ प्रवर्द्धन गर्ने उद्देश्यले गत वर्षदेखि दाइँ महोत्सवसमेत सुरु गरिएको बताउँदै उहाँले यस्ता कार्यक्रमले स्थानीय पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा उजागर गरेको बताउनुभयो।
यस वर्षको दाइँ महोत्सव पोखरा–१९ पुरनचौरको चुरुङ्गामा सम्पन्न भएको कार्यक्रम संयोजक हरि भुजेलले जानकारी दिनुभयो।
प्राचीन ऐतिहासिक मेला
पोखराको सेती नदी किनारस्थित ढुङ्गेसाँघुमा माघे सङ्क्रान्तिको अवसरमा लाग्ने मेला देशकै प्राचीन मेलामध्ये एक मानिन्छ। भगवान् राम–सीतासँग जोडिएको यो मेला त्रेतायुगदेखि चल्दै आएको जनविश्वास छ। ऐतिहासिक तथ्यअनुसार १९६४ सालदेखि व्यवस्थित रूपमा मेला लाग्दै आएको पाइन्छ।
कास्की तथा आसपासका जिल्लाबाट ठूलो संख्यामा सर्वसाधारण आउने यी मेलामा स्थानीय उत्पादनको उल्लेख्य बिक्री हुने गर्दछ।
धार्मिक एवं साहसिक पर्यटनको विस्तार
पछिल्लो समय पुम्दीकोटमा स्थापित विशाल महादेव मूर्ति, सराङ्कोटस्थित पञ्चमुखी महादेव मन्दिर तथा साहसिक पर्यटनका पूर्वाधार विस्तारसँगै पोखरामा हुने मेला–महोत्सवले पर्यटक आकर्षण थप बढाएको अध्यक्ष पहारीको भनाइ छ।
लेकसाइडको पहिचान—सडक महोत्सव
रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले २७औँ पोखरा सडक महोत्सव पुस १३ देखि १७ गतेसम्म आयोजना गर्ने तयारी गरेको अध्यक्ष विश्वराज पौडेलले जानकारी दिनुभयो।
अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गरी ‘सडकमै खाऊँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ नारासहित हुने यो महोत्सव अब पोखराको सांस्कृतिक पहिचानको रूपमा स्थापित भइसकेको छ।
औद्योगिक व्यापार मेला–लेखनाथ महोत्सव
पोखरा उद्योग वाणिज्य संघले मङ्सिर १७ देखि २२ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रमा ३४औँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३औँ क्यान इन्फोटेक आयोजना गर्दैछ। संघका अध्यक्ष गोकर्ण कार्कीका अनुसार औद्योगिक व्यापार मेलाले स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्याउँदै आएको छ।
यस्तै, लेखनाथ उद्योग वाणिज्य संघले पुस ३ देखि १४ गतेसम्म पोखरा–२७ तालचोकमा २१औँ लेखनाथ महोत्सव आयोजना गर्न लागेको छ। सुन्तला प्रदर्शनीबाट सुरु भएको यो महोत्सव अहिले क्षेत्रीय पहिचान, कृषि प्रवर्द्धन र स्थानीय उत्पादनको बजार विस्तारमा महत्वपूर्ण मानिन्छ।
पोखरा महोत्सव लगायत अन्य सांस्कृतिक कार्यक्रम
युनाइटेड क्लब पोखराले आयोजना गर्दै आएको १४औँ पोखरा महोत्सव पुस २९ देखि माघ ११ गतेसम्म अमरसिंह चौरमा हुने भएको छ।
यससँगै हरेक वर्ष मनाइने फेवा नव वर्ष महोत्सव, भाइटीका महोत्सव, टेवानद्वारा आयोजित तीज सांस्कृतिक महोत्सव, पोखरा–४ को यःमरी महोत्सव, नेवाः खलको गाईजात्रा महोत्सव तथा लेखनाथको फिस फेस्टिवललगायत कार्यक्रमहरूले पोखराको समग्र पर्यटन वृद्धिमा निरन्तर योगदान दिँदै आएका छन्।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेका अनुसार प्रदेशभर संचालन हुने मेला–महोत्सवको प्रवर्धनमा बोर्डले निरन्तर सहयोग गर्दै आएको छ।
उहाँको भनाइमा, यस्ता सांस्कृतिक तथा आर्थिक गतिविधिले पोखरालाई चारै ऋतुमा रमणीय, आकर्षक र पर्यटकमैत्री सहरको रूपमा थप मजबुत बनाइरहेको छ।






































