माघ पहिलो साताभित्र नयाँ सरकार : सचिव ज्ञवाली

246

भक्तपुर । एमालेका केन्द्रीय सचिव प्रदिप ज्ञवालीले आगामी माघ पहिलो साताभित्रै बामगठबन्धनको सरकार निर्माण हुने बताउनु भएको छ । रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सचिव ज्ञवालीले सो समयसीमामा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने बताउनु भएको हो ।
उहाँले एमाले र माओवादीबीच बृहत छलफल र बहस भइरहेको कारण सरकार गठन लगत्तै पार्टी एकिकरण हुने दाबी गर्नुभयो । पार्टी एकिकरणमा कुनै शंका नगर्न आग्रह गर्दै उहाँले अब बन्ने सरकार स्थायी सरकारका रुपमा रहेन पनि बताउँनुभयो ।
उहाँले अहिलेको काम चलाउ सरकारले गरेका सबैखाले निर्णय र नियुक्तीहरु गैरकानूनी र नैतिकता विपरित रहेको बताउनु भएको छ । यो गतल काम हो उहाँले भन्नुभयो ‘नयाँ सरकारलाई काम चलाउ सरकारले अहिले गरेका निर्णय मान्य हुँदैनन् ।’
उहाँले अहिले सरकारमा जाने टोलीमा क्षमता र योग्यताका आधारमा राम्रो व्यक्तिहरु जाने भन्दै यदि उक्त टोलीले जनताको चाहाना अनुसार काम गर्न नसकेको अबस्थामा हेरफेर गर्न सकिने पनि बताउनुभयो ।
उहाँले जनताको अभिमतबाट तल परेको काँग्रेसले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई ५ बर्षका लागी प्रधानमन्त्री बनोस् भनि राखेको प्रस्ताव राजनीतिक कुसंस्कार र देशमा अस्थिरता कायम गर्ने खेल भएको आरोप लगाउनुभयो । कामचलाउ सरकारका प्रधानमन्त्री देउवाले राखेको उक्त प्रस्ताव अध्यक्ष प्रचण्डले अस्वीकार गरेको उहाँले बताउनुभयो । कार्यक्रममा बोल्दै सचिव ज्ञवालीले राष्ट्रिय सभाको अध्यादेश राष्ट्रपतिले अहिले नै प्रमाणिकरण गर्नुपर्ने बाध्यता नरहेको बताउनुभयो । सरकार गठन र अध्यादेश फरक पाटो भएकोले अध्यादेश प्रमाणिकरणमा राष्ट्रपतिलाई दबाब दिन नहुने उहाँको भनाई छ ।
निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिक तर्फको मत परिणाम तत्काल सार्वजनिक गर्नुपर्नेमा उहाँले जोड् दिनुभयो । सचिव ज्ञवालीले समग्र भूगोल, जनसंख्या र जनभावना अनुसार प्रदेश राजधानी प्रदेश सभाले नै तोक्नुपर्ने बताउनु भयो । उहाँले राजधानीका लागी भौतिक पुर्वाधार भएको स्थान अथवा नयाँ ठाउँलाई विकास गर्ने भन्ने बिषयमा छलफल भइरहेको बताउनुभयो ।