Home समाचार मिनि ग्रेटवालको झल्को दिँदै ताथलीको गढी र हलालगाउँ सिँढी,आन्तरिक पर्यटकको पहिलो रोजाइ

- हरिसुन्दर छुकां
भक्तपुर । चाँगुनारायण नगरपालिका–९ ताथलीमा अवस्थित ऐतिहासिक ताथली गढी र मनमोहक प्राकृतिक आकर्षणले भरिएको हलालगाउँ सिँढी पछिल्लो समय आन्तरिक पर्यटकको प्रमुख गन्तव्यका रूपमा परिचित बन्दै गएको छ। स्थानीय इतिहास, प्राकृतिक सुन्दरता र छेउछाउको ग्रामीण जीवनशैली नजिकबाट अवलोकन गर्न चाहने पर्यटकहरू यो क्षेत्रतर्फ आकर्षित हुन थालेका हुन्।
- ताथली गढी क्षेत्र ऐतिहासिक दृष्टिकाेणले महत्वपूर्ण मानिएकाे क्षेत्र हाे । स्थानीय कथनअनुसार गढी क्षेत्र एक समय रणनीतिक निगरानी तथा सुरक्षात्मक दृष्टिले उपयोग हुने स्थान रहेकाे ऐतिहासिक अध्ययनबाट प्राप्त स्राेतले पुष्टि भएको छ । अहिले पनि ताथली गढी क्षेत्रमा ऐतिहासिक र पुरातात्त्विक महत्त्वका सम्पदाका अवशेष पाइएका छन् ।
ताथलीकाे आइतबारे वन र ठूलाेवाखा वनमा रहेकाे साे गढीबाट काठमाडौं उपत्यकाका विभिन्न भाग र बनेपा र काभ्रेका विभिन्न भाग देखन्न सकिन्छ । सुन्दर प्राकृतिक हरियाली, दृश्यावलोकन र ग्रामीण सौन्दर्यसँग मिसिएको विश्रामस्थलका रूपमा रहेको उक्त क्षेत्रमा रहेकाे साैन्दर्यमा रमाउन दैनिक सयाैं संख्यामा आन्तरिक पर्यटक आउने गरेकाे चाँगुनारायण नगरपालिका वडा नं. ९ का वडा सदस्य विद्यापति थापाले बताए ।
उनले शुक्रबार र शनिबार आन्तरिक पर्यटककाे घुइँचो लाग्ने गरेकाे समेत बताए । उपत्यका हेर्न मिल्ने डाँडामा रहेकाे हलालगाउँमा ताथली पुल – सुइटी खाेला सडक, ताथली नाला सडक- पुजारी पाटी सडक, सुडालकाे कलमसी हुँदै खावा, सुडाल ठूली ब्रम्हायणी सडक हुँदै खावा- हलालगाउँ पुग्न सकिन्छ ।
उक्त स्थानमा निर्मित यस्तै हलालगाउँ- ताथली गढी सिँढीले पनि पर्यटकलाई आकर्षण गरेकाे स्थानीय बताउँछन् । उच्च स्थानबाट देखिने पहाडी भू–दृश्य, चाँगुनारायण–ताथली क्षेत्रको समग्र दृश्य र पहाड–तराई मिश्रित भूभागले यहाँ आउने जोकोहीलाई मोहित बनाउँछ। परिवारसहितको छोटो घुमघाम, पदयात्रा, फोटोग्राफी र स्थानीय संस्कृति अनुभव गर्न उपयुक्त स्थान भएकाले आन्तरिक पर्यटकको चाप दिनानुदिन बढ्दै गएको चाँगुनारायण नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष गणेश त्यातले बताए ।
उनले उक्त स्थानकाे सल्लाघारी वन, विभिन्न प्रजातिका चराचुरुङ्गीकाे ध्वनि, मनाेरम वातावरणले एकान्तप्रेमी पर्यटकहरूलाई तानिरहेकाे उल्लेख गर्दै करिब ३०० खुड्किलाकाे सिँढीले थप साैन्दर्य बढाएको बताए । त्यसले ताथली गढी पुग्न समेत सहज भएको उनको भनाइ छ ।
पर्यटक संख्या बढेसँगै वडा कार्यालय, वन उपभोक्ता समिति र समुदायले, सरसफाइ, विश्रामस्थल जस्ता आधारभूत पूर्वाधार सुधारका पहलसमेत थालेका छन्। नियमित प्रचारप्रसार, सुरक्षित पदयात्रा मार्ग विकास र स्थानीय उत्पादन प्रवर्द्धन गर्न सके ताथली गढी र हलालगाउँ सिँढी निकट भविष्यमा अझ आकर्षक गन्तव्य बन्न सक्ने स्थानीयहरूको अपेक्षा छ।
साेही उद्देश्य बमाेजिम वडाले नियमित रूपमा उक्त स्थानमा सरसफाइ समेत गरिरहेकाे छ । साे स्थानमा निर्माण भएकाे अपुराे भ्यू टावरकाे निर्माण पूर्णतासँगै थप पर्यटक बढ्ने स्थानीयकाे भनाइ छ। वडा कार्यालयले साे स्थानकाे दीगाे विकासका लागि गुरूयाेजना समेत तयार गरेकाे छ ।
Related