गण्डकी,
अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन घट्दै गएको छ। गत सेप्टेम्बर महिनामा १९ हजार ३८६ विदेशी पर्यटक मात्रै प्रवेश गरेका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३७०२ ले कम हो।
सेप्टेम्बर र अक्टोबर अन्नपूर्ण क्षेत्रको मुख्य पर्यटकीय याम मानिन्छ। तर यस वर्षको सेप्टेम्बरमा ‘जेनजी आन्दोलन’, प्रतिकूल मौसम र असहज परिस्थिति कारणले अपेक्षाकृत कम पर्यटक भित्रिएका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा. रवीन कडरियाले जानकारी दिनुभयो।
उहाँका अनुसार, गत महिनामा एसियाली मुलुकका ८ हजार ५४२ र अन्य देशका १० हजार ८४४ पर्यटक अन्नपूर्ण क्षेत्रमा प्रवेश गरेका थिए। “मुख्य सिजनमा समेत ‘जेनजी’ प्रदर्शनका कारण कतिपय विदेशीले यात्रा रद्द गरे,” डा. कडरियाले बताउनुभयो, “मुक्तिनाथ जस्ता गन्तव्यमा पुग्ने भारतीय पर्यटकको सङ्ख्या पनि घटेको छ।”
उहाँले अन्नपूर्ण क्षेत्र शान्त र सुरक्षित रहेकोले पर्यटक ढुक्क भएर आउन सक्ने उल्लेख गर्नुभयो। “नेपाल अझै सुरक्षित पर्यटकीय गन्तव्य हो भन्ने सन्देश विश्वभर पुर्याउन सरकार तथा सरोकारवाला निकाय लाग्नुपर्छ,” उहाँले जोड दिनुभयो।
अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पुनहिल प्रवेश टिकट कक्षका कर्मचारी अमृत पुनका अनुसार, बुधबार मात्रै करिब २०० विदेशी पर्यटकले घोरपानी–पुनहिल क्षेत्रको भ्रमण गरेका छन्।
“केही दिनयता पर्यटकको चहलपहल देखिन थालेको छ, तर अघिल्लो वर्षको तुलनामा अझै कम हो,” पुनले बताउनुभयो, “यो सिजनमा दैनिक ४०० पर्यटकसम्म आउने गर्थे, अहिले त्यो सङ्ख्या घटेको छ। आन्तरिक पर्यटक पनि कम देखिन्छन्।”
घोरपानीका होटल व्यवसायी डमबहादुर पुनका अनुसार पर्यटकका २७ वटा समूहले ‘बुकिङ’ रद्द गरेका छन्। यसले होटल व्यवसायमा प्रत्यक्ष असर परेको छ।
करीब ७,६०० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङ जिल्लाका १५ स्थानीय तहका ८७ वडा समेटिएको छ। प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली संस्कृति, जीवनशैली र धार्मिक आस्थाका केन्द्रहरू भएका कारणले अन्नपूर्ण क्षेत्र आन्तरिक तथा विदेशी पर्यटकका लागि सधैंको आकर्षण रहँदै आएको छ।








































