मुस्ताङ — थासाङ गाउँपालिका–५ अन्तर्गत कुञ्जो, ताक्लुङ, छयो, झिप्रा देउरालीलगायतका क्षेत्रमा भालुको गतिविधि बढ्दै गएको छ, जसका कारण स्थानीय बासिन्दामा मानवीय जोखिम तीव्र बनेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमको अधीनमा पर्ने यी क्षेत्रमा पछिल्ला दिनमा जङ्गली भालु देखिन थालेपछि स्थानीयवासी डराएका छन्।
थासाङको कुञ्जो–ताक्लुङ आसपासका जङ्गलमा घाँसदाउरा, च्याउ टिप्न तथा पशुचौपाया चराउन जाने स्थानीयहरू पटक–पटक भालुको आक्रमणमा पर्ने गरेका छन्। भालुको उपस्थितिले नियमित कामकाजीका लागि जङ्गल निस्कनसमेत कठिन भएको स्थानीयवासी बताउँछन्। यसअघि पनि भालुको आक्रमणमा परी स्थानीय बासिन्दा घाइते भएका थिए।
एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताका अनुसार भालुको आक्रमणबाट घाइते भएकालाई वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० को दफा ४ उपदफा ‘ख’ र ‘ग’ अनुसार क्षतिपूर्ति उपलब्ध गराइने छ।
स्थानीयका भनाइमा भालुले बाली–नालीसमेत नष्ट गर्ने गरेका छन्, जसले कृषकहरूलाई थप आर्थिक क्षति पु¥याइरहेको छ।








































