मेलम्ची नदिमा बेलिव्रीज बन्ने, काम छिटो सम्पन्न गराउन प्रदेश सभा सदस्य तामाङको आग्रह

64

सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको मेलम्ची नदीमा बेलिब्रिज निर्माण हुने भएको छ । बुधबार नेपाली सेनाको इन्जिनियरिङ्ग बिभाग,१४ नम्बर बाहिनी अड्डाबाट कर्णेल इश्वर बुढाथोकीको नेतृत्वमा आएको टिम मेलम्चीस्थित पुल निर्माण स्थलमा स्थलगत अनुगमन सम्पन्न गरेको छ ।

स्थलमै पुगि सोही क्षेत्रको प्रदेश सभामा निर्वाचित कृष्ण कुमार तामाङ (समिर) ,मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ ,मेलम्ची –१० का वडाअध्यक्ष अमृत खनाल  र स्थानीय बासिहरुको उपस्तिथिमा  प्रारम्भिक निरीक्षण तथा नापजाच  सम्पन्न भएको छ  ।
निरीक्षण तथा नापजाँचको क्रममा बेलिब्रिज निर्माणको जिम्मेवारी पाएको नेपाली सेनाको टोलिलाई बर्षायाममा यहाँको नागरिकहरुलाई आवतजावत गर्न निकै समस्या हुने भएकाले जतिसक्दो चाडो कार्य सम्पन्न गर्नका लागी प्रदेश सभा सदस्य कृष्ण कुमार तामाङ समिरले   अनुरोध गर्नुभएको छ ।

उहाँले भन्नुभयो , ‘मेलम्ची खोलामा बेलिब्रिज अहिले अति आवश्यक रहेको  छ । बर्षायाममा यहाँको नागरिकहरुलाई आवतजावत समस्या हुन्छ । ’

महासेनानी (कर्णेल) इश्वर बुढाथोकीले यो कार्यगर्न केही चुनौती रहेपनी अबको केही समय भित्रै बेलिब्रिज निर्माण हुने र जतिसक्दो चाडो कार्य सम्पन्न गर्न लागिपर्ने प्रतिबद्धता जनाउनुभएको छ । ०७८ साल असार १ गते आएको बाढीले पक्कि पुल बगाउँदा यहाँका नागरिकहरुले बर्खाको समयमा सास्ती खेप्दै आएका छन् । हिउँदको समयमा ह्युमपाइप राखेर सडक सञ्चालन गर्ने गरिएको भए पनि बर्खा लागेसँगै समस्या हुनेगरेको छ ।

2222221686125420.jpg

मेलम्ची पारिको वडा नम्बर ९ र १० तथा पाँचपोखरी थाङ्पाल गाउँपालिका र इन्द्रावती गाउँपालिका जोड्ने सो पुल निमार्ण भएपछि त्यहाँका नागरिकले प्रत्यक्ष लाभ लिनेछन् भने सदरमुकाम चौतारा जाने छोटो दुरीको रुटको रुपमा समेत यो सडक प्रयोग हुँदै आएको छ ।

मेलम्ची नदीमा बेलिब्रिज निमार्ण हुने भएपछि स्थानीयवासी हर्षित भएका छन् । चुनावका समयमा जेठ मशान्तभित्र बेलिब्रिज निमार्ण गर्ने प्रतिबद्धता गरे पनि केहि समय ढिलो गरेर बेलिब्रिज निमार्ण हुन लागेको बागमती प्रदेश सांसद कृष्णकुमार तामाङ (समीर)ले जानकारी दिनुभयो ।