काठमाडौं ।
शनिबार राती जडिबुटी छाप्रोस्थित मोटरसाइकल चालकलाई ठक्कर दिएर मार्ने कार र कार चालकलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरले २४ घण्टाभित्रै पक्रिन सफल भएको छ ।
प्रहरीका अनुसार पेप्सीकोला सिनामंगलबाट जडिबुटीतर्फ आउँदै गरेको बा ८४ प १२७५ नंको पल्सर मोटरसाइकललाई जडिबुटीबाट पेप्सीकोलातिर (विपरित दिशातिर) जाँदै गरेको बा ९ च १३८ को नीजि कारले शनिबार राती ९ बजे ठक्कर दिएर फरार भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक दोलखा जिल्ला मेलुंग गाउँपालिका १ पवटी घर भई नयाँबानेश्वर बस्ने वर्ष २८ को सरोज उप्रेतीको मृत्यु भएको थियो ।

दुर्घटनापछि स्थानीय वटुवाले घाइते मोटरसाइकल चालक उप्रेतीलाई उपचारको लागि एभरेस्ट हस्पिटलमा लगेकोमा त्यहाँ उपचार हुन नसकेपछि प्रहरीले थप उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा उप्रेतीको मृत्यु भएको थियो ।
दुर्घटना भएको २४ घण्टाभित्रै मोटरसाइकललाई ठक्कर दिएर भागेको कार चालक दोलखा जिल्ला नाम्दुका कृष्णबहादुर बि.कलाई पेप्सीकोलाबाट पक्रिन सफल भएको महानगरीय प्रहरी प्रभाग कोटेश्वरका प्रमुख, प्रहरी निरिक्षक राजु लामाले बताए ।
अनियन्त्रित रुपमा तीव्र गतिमा आएको मोटरसाइकल आफैं दुर्घटना भई कारमा ठोक्किन आएको कारचालकको भनाई रहेता पनि सो दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएका कारण कार चालक दोषि देखिन आएकोले उनीमाथि मुद्धा दर्ता गरिएको प्रहरीले जनाएको छ ।
दोषि कार चालकलाई महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर मार्फत आवश्यक कारवाही अगाडि बढाइएको छ भने बरामद गरिएको कार वृत्तमा राखिएको छ ।
प्रहरीका अनुसार शवको पोष्टमार्टमपछि हिजै मृतकका आफन्तले शव बुझेर लगेका थिए ।
पछिल्लो समयमा कोटेश्वर जडिबुटी, पेप्सीकोला र छाप्रोमा गम्भीरखालको सडक दुर्घटना बढ्दै गएकोमा प्रहरी र स्थानीयवासी चिन्तित देखिएका छन् ।







































