भक्तपुर । सानैदेखि केटाकेटीले केरा, स्याउ, लिच्ची, अंगुर, खरबुजा, नास्पाती, रुख कटहर, भूँई कटहरमात्रै होइन फलफूलको राजा आपँ पनि चाखिसकेका हुन्छन । तर ती फलफूलहरु कुन कुन मौसममा पाइन्छ ? दर्जन, गोटा या जोखेर ती फलफूल कसरी किन्न सकिन्छ ? यसबारे भने साना केटाकेटीलाई पटक्कै थाहा हुँदैन ।
सानैदेखि आफुले खाँदै आएका फलफूल पाइने मौसम, बजार जाँदा फलफूल किन्ने तरीका, फलफूल खाँदा स्वास्थ्यलाई पुर्याउने फाइदा आदिका बारेमा युरो किड्स सल्लाघारीका सानो कक्षाका सबै विद्यार्थीलाई जानकारी गराइएको विद्यालयकी प्रिन्सिपल विनु गोदार थापाले बताउनुभयो ।
दैनिकजसो आफुले खाने गरेका फलफूलका बारेमा सानैदेखि वालवालिकालाई जानकारी गराउँदा उनीहरु आफ्नो स्वास्थ्यबारे मात्रै नभई घरमा कोही विरामी पर्दा नजिकको फलफूल पसलबाट फलफूल किनेर ल्याउन पनि सक्षम हुने विद्यालयका संस्थापक प्रवन्ध निर्देशक नवराज काफ्लेले बताउनुभयो ।
प्रवन्ध निर्देशक नवराज काफ्लेका अनुसार विद्यालयले अभिभावकको चाहना अनुसार कितावी ज्ञानको साथै विद्यार्थीलाई सानैदेखि व्यवहारिक ज्ञान दिँदै आएको र सो कार्यको अभिभावकहरुले प्रशंसा गर्दै आएका छन् ।







































