राजनीतिशास्त्र पढने विद्यार्थी अभावले गलत राजनीतिज्ञ उत्पादन : विजुक्छे

434

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नरायणमान विजुक्छे रोहितले राजनीतिशास्त्र अध्ययन गर्नेको संख्या घटे सँगै देशमा गलत राजनीतिज्ञको उत्पादन बढेको बताए ।
चाँगुनारायण नगरपालिका वडा नम्वर ९ मा अवस्थित देवी माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको अवसरमा विजुक्छेले त्रिभुवन विश्वविद्यालयको रिपोर्टअनुसार राजनीतिशास्त्र पढ्ने विद्यार्थी घटे सँगै देशमा कुसल राजनीतिज्ञको पनि अभाव भएको बताएका हुन् ।
कार्यक्रममा उनले देश निर्माणकोलागि राजनीति बुझेका नेताका साथ साथै स्वस्थ नागरिक आवश्यक भएको चर्चा गर्दै विद्यार्थीलाई खेलकुदमा उत्साहित गर्नुका साथै गीत, सङ्गीत र नृत्यको प्रशिक्षण दिनुपर्ने आवश्यकता औँल्याएका थिए ।
देशमा राजनैतीक चेतना भएका नेताको अभावका कारण देश जग्गा दलालको हातमा गएको बताउँदै उनले अव पनि राजनेतामा राजनीतिक चेतना नहुने हो भने देशमा ठुलो संकट आउने उनको धारण रहेको थियो । राजनीति नाफाको खेतीको रुपमा विकास भएको बताउँदै अव उत्पादन हुने विद्यार्थीले देशको विषयमा राम्रो ज्ञान राख्नु पर्ने तथा विद्यार्थी देखि नै राजनीतिक चेतना साथ साथै देश विकासको विषयमा अध्यापन गराईनु पर्ने विजुक्छेले बताए ।
कार्यक्रममा नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालले देशको शान्ति र सुरक्षा कमजोर भएको बताए । उनले देशमा दुई तीहाईको बहुमत सँगै सरकारको दम्व बढ्दा उल्टै सरकार कमजोर भएको भन्दै उनले हाल दिनदहाडै चोरी बढ्दो , निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधीहरू सरकारकै संरक्षणमा रहेको जनगुनासो तथा सरकारका आधिकारीक पदमा आसिनको क्रियाकलापले सरकार झन कमजोर सावित भएको बताएका हुन् ।
संविधान र कानुनमा शिक्षा अनिवार्य र निःशुल्क भए पनि शिक्षालाई सेवामूलक बनाउने बहानामा निजी विद्यालय यथावत राख्ने प्रावधान संविधानविपरीत भएको सांसद सुवालले बताए ।
सांसद सुवालले भने, ‘‘एसिया प्रशान्त क्षेत्रको सम्मेलनको नाममा सरकार आफै इसाई धर्म प्रचारमा लाग्नु संविधानमा भएको धर्मनिरपेक्षताविपरीत हो । इसाई धर्म प्रचार गर्ने युनिभर्सल पिस फेडेरेसनले प्रधानमन्त्री केपी ओलीलाई दिएको रू. एक लाख डलर सम्मेलन आयोजना गर्न दिएवापतको ‘बक्सिस’ जस्तै हो ।’’ उनको आरोप रहेको थियो ।
विद्यालयले स–साना विद्यार्थीहरूको आँखा र दाँत बरोबर परीक्षण गराउनुपर्ने आवश्यकता औंल्याउनुहुँदै सांसद सुवालले विद्यालय स्थापना र सञ्चालनमा योगदान गर्नुहुने सबैलाई बधाई एवं धन्यवाद व्यक्त गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णराम बासुकलाको सभापतित्वमा भएको कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, चाँगुनारायण नगरपालिकाका वडा नं. ९ का वडाध्यक्ष गणेश त्यात, सार्वजनिक संयुक्त परीक्षा समितिका अम्बिका न्याइच्याई र शिक्षा विकास समन्वय एकाइ भक्तपुरका हरिप्रसाद दाहालले शुभकामना दिदै भुत मन्छिने डाँडो आजका दिनमा भक्तपुरको पूर्वी भेगको शिक्षाको तारा नै हुन् सफल हुनु खुसिको कुरा भएको बताए ।
विद्यालयका प्रअ राजाराम छुकांले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै कार्यक्रममा सामुदायिक विद्यालयले पनि अवसर पाएका खण्डमा निजीले भन्दा राम्रो गर्न सक्ने बताएका थिए ।