राष्ट्रिय सभामा शक्ति सन्तुलन फेरियो, नेपाली कांग्रेस सबैभन्दा ठुलो दल

0

काठमाडौं । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा नेपाली कांग्रेस सबैभन्दा ठुलो दल बनेको छ । आइतबार सम्पन्न एक तिहाइ सदस्यको निर्वाचनको अन्तिम मतपरिणामपछि यसअघि सबैभन्दा ठुलो दल रहेको नेकपा (माओवादी केन्द्र–एकीकृत समाजवादी एकतापछिको) दोस्रो स्थानमा झरेको छ ।

निर्वाचन आयोगका अनुसार माघ ११ गते सम्पन्न निर्वाचनबाट छ वर्षे कार्यकालका लागि १८ जना सदस्य निर्वाचित भएका हुन् । संविधानको व्यवस्था अनुसार प्रत्येक दुई वर्षमा राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि समाप्त हुने भएकाले २०७६ फागुनमा निर्वाचित सदस्यको कार्यकाल सकिन लाग्दा निर्वाचन गरिएको हो ।

मतपरिणाम अनुसार एक जना निर्विरोधसहित नेपाली कांग्रेसका नौ जना सदस्य निर्वाचित भएका छन् । नेकपा (एमाले) का आठ र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का एक जना सदस्य निर्वाचित भएका छन् । मधेश प्रदेशको अन्य समूहबाट लोसपाका अध्यक्ष महन्थ ठाकुर निर्वाचित हुनुभएको छ । यसअघि राष्ट्रिय सभामा लोसपाबाट शेखरकुमार सिंह मात्र सदस्य रहनुभएको थियो ।

जनता समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरू निर्वाचनमा पराजित भएका छन् । माथिल्लो सदनमा नेमकिपाको प्रतिनिधित्व नरहने भएको छ भने राष्ट्रिय जनमोर्चाबाट तुलबहादुर विश्वकर्मा एक मात्र सदस्यका रूपमा कायम रहनुहुनेछ ।

कोशी प्रदेशको अन्य समूहबाट नेपाली कांग्रेसका सुनीलबहादुर थापा निर्विरोध निर्वाचित हुनुभएको छ । निर्वाचनपछि फागुन २१ गतेदेखि राष्ट्रिय सभामा नेपाली कांग्रेसका सदस्य संख्या २४ पुग्ने छ । नेपाली कम्युनिस्ट पार्टी दोस्रो र नेकपा (एमाले) १० सदस्यसहित तेस्रो ठुलो दल बन्ने छ ।

शपथ तत्कालै, कार्यकाल फागुन २१ बाट सुरु

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ अनुसार निर्वाचन आयोगले अन्तिम परिणाम राष्ट्रपतिसमक्ष पेस गर्ने र नेपाल राजपत्रमा प्रकाशन गर्ने प्रक्रिया अघि बढाउने छ । सङ्घीय संसद् सचिवालयले परिणाम प्राप्त गरेपछि निर्वाचित सदस्यलाई शपथ ग्रहण गराउने तयारी गर्ने जनाएको छ ।

सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार हालका सदस्यको पदावधि फागुन २० सम्म कायम रहने छ भने नयाँ निर्वाचित सदस्यको कार्यकाल फागुन २१ गतेबाट सुरु हुनेछ ।

यसअघि मनोनीत सदस्य वामदेव गौतम तथा निर्वाचित सदस्य नारायणकाजी श्रेष्ठ र भगवती न्यौपानेले कार्यकाल सकिनुअघि नै राजीनामा दिनुभएको थियो । नेपाली कांग्रेसका सदस्य बलदेव बोहराको निधनका कारण एक पद रिक्त रहेको छ, जसका लागि उपनिर्वाचन हुने आयोगले जनाएको छ ।

९६ प्रतिशत मतदान

निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनमा ९५.६७ प्रतिशत मतदाता सहभागी भएका छन् । सातै प्रदेशमा गरी कुल २,०११ मतदातामध्ये १,९२४ जनाले मतदान गरेका थिए । निर्वाचन शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको आयोगले जनाएको छ ।

प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ तोकिएको छ । सोही मतभारका आधारमा बढी मत ल्याउने उम्मेदवार निर्वाचित भएका हुन् ।

सातै प्रदेशबाट महिला, दलित, अपाङ्गता/अल्पसङ्ख्यक र अन्य समूहका प्रतिनिधिहरू निर्वाचित भएका छन् । नेपाली कांग्रेस र नेकपा (एमाले) ले अधिकांश प्रदेशमा उपस्थिति विस्तार गरेका छन् ।