काठमाडौँ । आइतबार सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा जनप्रतिनिधिहरूले मतदान नगरेको वा सही ढंगले मतदान गर्न नसक्दा लुम्बिनी प्रदेशमा उल्लेख्य संख्यामा मत बदर भएको छ । जनताबाटै निर्वाचित प्रतिनिधिको मत बदर हुनु पहिलो पटक नभए पनि यसपटकको घटनाले व्यापक चर्चा पाएको छ ।
लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाका तीन सदस्य चयनका लागि भएको निर्वाचनमा प्रदेशसभा सदस्य तथा पालिका प्रमुख–उपप्रमुख गरी कुल ३०५ जना मतदाता थिए । तीमध्ये प्रदेशसभाका ८७ सदस्यमध्ये चार जनाले राजीनामा दिएर आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका छन् भने थप चार जना मतदानमा सहभागी भएनन् । यस्तै पालिका प्रमुख–उपप्रमुखमध्ये १० जनाले मतदान गरेनन्, जसमध्ये लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुखको निधन भइसकेको छ ।
निर्वाचनमा प्रदेशसभाका ७८ जना र स्थानीय तहका २०७ जना गरी कुल २८६ जनाले मतदानमा सहभागिता जनाएका थिए ।
क्लस्टरअनुसार बदर मत
मतदानमा सहभागी २८६ जनामध्ये महिला क्लस्टरमा सात जनप्रतिनिधिको मत बदर भएको छ । बदर मत दिनेमा तीन जना प्रदेशसभा सदस्य र चार जना पालिका प्रमुख–उपप्रमुख छन् ।
त्यसैगरी अन्य क्लस्टरमा प्रदेशसभा सदस्य एक जना र पालिका प्रमुख–उपप्रमुख तीन जना गरी चार जनाको मत बदर भएको छ । अपाङ्गता क्लस्टरमा भने दुई जना प्रदेशसभा सदस्य र तीन जना पालिका प्रमुख–उपप्रमुख गरी पाँच जनाको मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जनप्रतिनिधिले मतदान प्रक्रिया नबुझेका कारण मत बदर भएको हो वा जानीजानी बदर गरिएको हो भन्ने विषय अहिले चर्चाको केन्द्र बनेको छ ।
मतदानमा सहभागी नहुनेमा नेपाली कांग्रेसका अनुराग खड्का, राप्रपाबाट उपसभामुख मेनुका खाण केसी, राप्रपाकै मिनकुमारी श्रेष्ठ, आशिषकुमार चौधरी र जानकीप्रसाद यादव रहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय सभा सदस्य निर्वाचन बहिष्कार गरेको जनाएको छ ।








































