रास्वपाको टिकट वितरणमा चलखेलको आरोप, जनकपुरमा नेता–कार्यकर्ताको विरोध प्रदर्शन

0

जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टिकट वितरण प्रक्रियामा चलखेल भएको आरोप लगाउँदै जनकपुरमा पार्टीका नेता–कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका छन् ।

रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह बसिरहेको होटल बाहिर नेता–कार्यकर्ताहरू जम्मा भएर विरोध गरिरहेका छन् । लामिछाने र शाह हाल सोही होटलमा रहेका छन् र विभिन्न निर्वाचन क्षेत्रमा बाँकी उम्मेदवारहरूको टिकट त्यहीँबाट वितरण भइरहेको बताइएको छ ।

विरोधमा उत्रिएका कार्यकर्ताहरूले टिकट वितरण पारदर्शी नभएको र सीमित व्यक्तिको प्रभावमा निर्णय भएको आरोप लगाएका छन् । जानकारीअनुसार वरिष्ठ नेता बालेन शाहले पनि आजै सोही होटलमा सभापति लामिछानेसँग भेट गरी टिकट लिएको बताइएको छ ।

रवि लामिछाने, बालेन शाहलगायत रास्वपाका शीर्ष नेताहरू हिजो नै जनकपुर पुगेका थिए । उनीहरू आज जनकपुरमा आयोजित पार्टीको सभामा सहभागी भएका थिए । टिकट वितरणको विषयलाई लिएर देखिएको आन्तरिक असन्तोषले रास्वपाभित्रको अवस्था सार्वजनिक रूपमा देखिन थालेको छ ।