रूपन्देही । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देहीका तीन निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ भने दुई अन्य क्षेत्रमा सम्भावित उम्मेदवार अघि सारिएको छ।
प्रत्यक्ष उम्मेदवार सूची :
- रूपन्देही–१ : सुनिल लम्साल (पार्टी महामन्त्री)
- रूपन्देही–२ : आशिष सुवेदी (साधारण सदस्य)
- रूपन्देही–३ : डा. लेखजंग थापा (केन्द्रीय स्वास्थ्य विभाग सदस्य)
- रूपन्देही–४ : कन्हैया बानिया (सम्भावित, प्रदेशसभा सदस्यबाट राजीनामा दिइसकेका)
- रूपन्देही–५ : डा. बुद्धि शर्मा वा तौफिक अहमद खान (एक जनालाई उम्मेदवार बनाइने)
रास्वपा क्षेत्रीय सभापति मधु अर्यालका अनुसार, उम्मेदवारी दर्ता नहुँदासम्म निर्णय परिवर्तन हुन सक्ने भए पनि प्रदेशसभा सदस्यबाट राजीनामा दिइसकेकाले क्षेत्र–४ बाट कन्हैया बानियाले उम्मेदवारी दिने सम्भावना बढी छ।
समानुपातिकतर्फ पनि पार्टीले देवदहकी श्रद्धा कुँवर र बुटवलकी मञ्जु ज्ञवाली भुसाललाई उम्मेदवार बनाएको छ। तर बालेन शाहको समूहबाट उम्मेदवार छनोट भएपछि पार्टीका पुराना कार्यकर्ता असन्तुष्ट भएका छन्।
पुराना कार्यकर्ताले गुनासो गर्दै भनेका छन्, “हामीले गाउँ–गाउँमा घन्टी पुर्यायौं, तर फल खाने बेलामा पछि आएका मान्छेलाई प्राथमिकतामा पार्न पाइँदैन।”
रास्वपा भित्र अहिले बालेन शाहको समूह र पुराना कार्यकर्ताबीच दुई धार देखिएका छन्। सभापति रवि लामिछानेले सामाजिक सञ्जालमा लोकप्रियता प्रयोग गरेर चुनाव जित्ने रणनीति अपनाएका भए पनि यसले पार्टीभित्रको आन्तरिक लोकतन्त्र कमजोर बनाएको आरोप लागिरहेको छ।







































