लघुकथा- फैसला

454

मीरा पुरी
पैतिस बर्ष उमेर पुगेपछी छोरीले पनि छोरा सरह अंश लिन पाउने कानुनी ब्यबस्था भएपछी गरिमाले एक अंश पाइन् बुवाको । अंश लिएको केही समय पश्चात् बुवाको निधन भयो ।

उनका दुई दाइ संगै उन्ले पनि तेह्र दिन किरिया गरिन्।बुवा बितेको केही समय पछि गरिमाले छोरी पाइन्।

यो देखेर सबै चकित् भए। दाइ हरु र भाउजुहरु खासखुस खासखुस गर्न थाले। भित्र भित्रै दाइहरु वकिल कहाँ गएर अदालतमा मुद्दा दायर गरेर आएछन ।

उनीहरुको दावी थियो- ” हाम्री बहिनी बिहे नगर्ने भनेर हामी सरह अंश को हकदार थिइन्। तर हाल हाम्री बहिनीको एक सन्तान छोरी भैसकोले उनले हामीसंग लिएको सम्पत्ती फिर्ता गराइ पाउँ भनी सम्मानित अदालतमा मुद्दा दायर गरेयौं।”

यस्तो बिवरणको मुद्दा परेपछी सबैलाइ अदालत मा झिकाइयो। सबै उपस्थित भए तर बहिनीको छोरीको बाउको अत्तोपत्तो थिएन। साक्षी बकाइयो ।

साक्षी ले उनको श्रीमान पनि नदेखेको र बिहे भएको पनि थाहा नभएको बयान दिए। त्यै कुरा दाइभाउजुलाइ सोधियो । उनिहरुले पनि आफुले बहिनी ज्वाइँ त नदेखेको तर भान्जी त छिन नि? भनेर बयान दिए।

अब फैसला गर्ने पालो न्यायाधीश को आयो । कुरो त गम्भीर हो तर फैसला कसरी गर्ने? 

उनी पनि एकछिन अकमकिए ।तर फैसला त गर्नै पर्यो। न्यायाधीश को फैसला आयो सबै हेर्याहेरै भए ।” 

एउटी महिलाले सन्तान जन्माउन बिहे नै गर्न पर्छ भन्ने छैन । तपाइको उजुरी जायज हो तर बहिनी को श्रीमान पुष्टि नभएको ले उनले बुवाबाट पाएको अंश फिर्ता गर्न नपर्ने देखिन्छ।”