लाञ्छाना र भेदभावले एचआईभीको जोखिम बढ्दो

571

भक्तपुर । एचआईभी संक्रमीतलाई गरिने लाञ्छाना र भेदभावका कारण एचआईभीको जाखिम बढ्दो रहेको छ ।
एचआईभी/एड्सको क्षेत्रमा कार्यरत सुरुवात सामुदायिक उपचार तथा पुनःस्थापना केन्द्रद्वारा आयोजित संक्रमितमाथि हुने लाञ्छना र भेदभाव विषयक अन्तरक्रियाका सहभागीहरुले उक्त कुरा बताएका हुन् ।
जिल्लास्थित सरोकारवाला निकाय, स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरुको उपस्थिति रहेको कार्यक्रममा उनीहरुले सरकारले एचआईभी संक्रमणलाई जनस्वास्थ्य समस्याको रुपमा नलिँदा अझै धेरै संक्रमितहरु लुकेर बसेको स्पष्ट पारे ।
समाजमा लाञ्छना र भेदभाव हुने डरले नै एचआईभी संक्रमितहरु खुल्न नसकेको उनीहरुको दावी रहेको थियो ।
‘धेरै एचआईभी संक्रमितहरुले आफूहरु खुल्दा के पाइन्छ भनी प्रश्न गर्छन् । बरु खुल्दा समाजबाट लाञ्छना र भेदभाव हुने उनीहरुको डर छ’, उनीहरुले भने, ‘त्यसैले एचआईभी संक्रमणलाई पनि जनस्वास्थ्य समस्या मान्न ढिला भइसक्यो । त्यससँगै खुलेका संक्रमितहरुलाई जिविकोपार्जन भत्तालगायतका सेवा सुविधा उपलब्ध गराउनुपर्छ ।’
‘संक्रमितहरु लुकेर बस्दा उनीहरुबाट थप संक्रमण हुने जोखिमको स्थिति भयावह छ’, सुरुवातका कार्यक्रम संयोजक पन्नोश शर्माले भने, ‘संक्रमितहरु नखुल्दा सन् २०२० भित्र ९० प्रतिशत संक्रमितलाई उपचारको पहुँचमा ल्याउने सरकारको लक्ष्यसमेत पूरा नहुने पक्का छ ।’
सरकारले एचआईभी संक्रमितहरुले खाने एआरभी औषधि निःशुल्क उपलब्ध गराउँदा पनि संक्रमित नखुल्नु ठुलो चुनौतीको विषय रहेको उनको भनाइ थियो ।
कार्यक्रम संयोजक शर्माले भक्तपुरको एचआईभी संक्रमित र लागूपदार्थ दुव्र्यसनीको क्षेत्रमा सुरुवातले गर्दै आएको कार्यक्रमबारे प्रस्तुतीकरण प्रस्तुत गरेका थिए ।
त्यस्तै पत्रकार ईश्वरकाजी खाइजूले भक्तपुरमा एचआईभीको अवस्थाबारे प्रस्तुतीकरण गर्दै अनुमानित गरिएभन्दा भक्तपुरमा दस प्रतिशतमात्रै एचआईभी संक्रमित खुलेको जानकारी दिए ।
उनका अनुसार भक्तपुरमा करिब एक हजार पाँच सय एचआईभी संक्रमित रहेको अनुमान गरिन्छ । तर राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको २०६४ साल असारसम्मको तथ्यांकमा एकसय ४७ जनाको मात्रै रिपोर्टिङ भएको उनले सुनाए ।
‘सरकारी तथ्यांकअनुसार भक्तपुरमा एकसय ४७ जना एचआईभी संक्रमितको पहिचान भए पनि एकसय १५ जनामात्रै उपचारको पहुँचमा आएका छन्’, उनले भने ।
समाजबाट लाञ्छना र भेदभावसँगै सामाजिक मान प्रतिष्ठामा आँच पुग्ने विविध कारणले संक्रमितहरु खुल्न नसकेको उनको भनाइ थियो ।
भक्तपुरका चार नपामध्ये सूर्यविनायक नपामा सबैभन्दा बढी ३६ जना ,भक्तपुर नपामा ३१, मध्यपुर थिमी नपामा ३० र चाँगुनारायण नपामा २१ जना एचआईभी संक्रमित रहेको सरकारी तथ्याङ्गक रहेको छ । त्यस्तै एचआईभी संक्रमित १२ जना बालबालिका खुलेका छन् । उनीहरुले सरकार मार्फत मासिक एक हजार रुपैयाँ निर्वाहभत्ता का रुपमा पाउँदै आएका छन् ।
कार्यक्रममा स्वास्थ्यकर्मी डा. संगम खाइजू, नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव कृष्णप्रसाद नेपालसँगै सञ्चारकर्मीहरु कृष्ण किसी,विकास थापा (प्रहर), राजुसिंह बजिको, हरिसुन्दर छुकां, सञ्जीब दुलाललगायतले स्थानीय तहलाई एचआईभी संक्रमितहरुको जीविकोपार्जनको लागि सहयोग उपलब्ध गराउन दबाब दिनुपर्ने धारणा राखे ।