प्रेस विज्ञप्ति
मायाको पहिचान नेपाल
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकमाथि हुने घृणाविरुद्धको अन्तर्राष्ट्रिय दिवस (IDAHOBIT)
“कुनै अपवाद बिना समानता: विभेद अन्त्य गरौँ, समावेश सुनिश्चित गरौँ”
आज मे १७, विश्वभर यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूमाथि हुने घृणा, विभेद र हिंसाविरुद्ध आवाज उठाइने ऐतिहासिक दिन हो। यस दिनको महत्त्व सन् १९९० को मे १७ मा विश्व स्वास्थ्य सङ्गठन (WHO) ले समलैङ्गिकता तथा यौनिक विविधतालाई मानसिक रोगको सूचीबाट औपचारिक रूपमा हटाएको घटनाबाट सुरु हुन्छ। नेपालमा सन् २००४ यता यस ऐतिहासिक उपलब्धिलाई आधार बनाई “यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकमाथि हुने घृणाविरुद्धको अन्तर्राष्ट्रिय दिवस (IDAHOBIT)” का रूपमा विभिन्न कार्यक्रम, अभियान र जनचेतनामूलक गतिविधिहरू हुँदै आएका छन्।
तर अझै पनि नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय परिवार, समाज र राज्यबाटै हुने विभेद, हिंसा र अस्वीकारको शिकार भइरहेका छन्। तेस्रोलिङ्गी तथा समलैङ्गिक नागरिकहरू खुला रूपमा आफ्नो पहिचान प्रकट गर्न सहज वातावरणबाट वञ्चित छन्। सामाजिक बहिष्कार, पारिवारिक उपेक्षा, कानुनी अन्यौलता र सरकारी उपेक्षाका कारण हामीहरू समान अधिकार र सम्मानका साथ जीवन यापन गर्न सकिरहेका छैनौँ। हामी नेपाली नागरिक हौँ, यही राष्ट्रका सन्तान हौँ। तर हाम्रो अस्तित्वलाई अझै पनि दातृ निकायको भरमा धकेल्ने प्रवृत्ति कायमै छ। राज्यको तर्फबाट समावेशी नीति, कार्यक्रम र बजेट विनियोजनमा स्पष्ट उदासीनता देखिन्छ। यो प्रवृत्तिको अन्त्य यही दिवसबाट सुरु होस्।
यस सन्दर्भमा, मायाको पहिचान नेपाल निम्न स्पष्ट मागहरू राख्दछ:
१. राजनीतिक समावेश सुनिश्चित गरियोस्:
सङ्घ, प्रदेश र स्थानीय तहका सरकारी निकायहरू, राजनीतिक दलहरू तथा संवैधानिक आयोगहरूमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरूको सार्थक र प्रभावकारी प्रतिनिधित्व सुनिश्चित गर्न सकारात्मक कार्यनीतिहरू निर्माण गरी तुरुन्त कार्यान्वयन गरियोस्।
२. आर्थिक बहिष्करण अन्त्य गरियोस्:
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई लक्षित गरी आर्थिक सशक्तीकरण कार्यक्रमहरू, समावेशी वित्तीय नीति, तथा उद्यमशीलता प्रवर्द्धनका अवसरहरू सुनिश्चित गरियोस्। आर्थिक न्याय नै आत्मसम्मान, आत्मनिर्भरता र जीवनको आधार हो।
३. घृणा अपराधलाई राज्यविरुद्धको अपराध घोषणा गरियोस्:
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूमाथि हुने विभेद तथा हिंसालाई आपराधिक संहितामा स्पष्ट रूपमा ‘घृणा अपराध’ का रूपमा परिभाषित गरियोस्। यस्ता अपराधलाई राज्यविरुद्धको गम्भीर अपराध मानी, राज्य आफैँले मुद्दा दायर गर्ने र कडा सजाय सुनिश्चित गर्ने कानुनी व्यवस्था गरियोस्।
यस विशेष अवसरमा हामी सबै सरकारी, गैरसरकारी तथा अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूसँग अनुरोध गर्न चाहन्छौँ— आउनुहोस्, यौनिक तथा लैङ्गिक विविधता भित्र रहेका सबै नागरिकप्रति सम्मान, सहानुभूति र सहयोगको भावना विकास गरौँ। समावेशी, सुरक्षित र बराबरीपूर्ण समाज निर्माणमा साझा जिम्मेवारी बहन गरौँ।
हाम्रो माग स्पष्ट छ— राज्यको मूल प्रवाहमा हाम्रो पहिचान र अधिकारलाई संस्थागत गरियोस्। सबै नागरिकलाई समान अधिकार प्राप्त हुने लोकतान्त्रिक मूल्यको सम्मान गरियोस्।
‘विविधता घृणाको कारण होइन, सम्मानको आधार हो’ भन्ने सन्देशसहित, मे १७ को यो अर्थपूर्ण दिवसको अवसरमा सबैमा ऐक्यबद्धता र शुभकामना व्यक्त गर्दछौँ।
मायाको पहिचान नेपाल
काठमाडौं, नेपाल








































