बलराम प्यासी
काठमाडौं ।
वालवालिकाको हक तथा अधिकार संरक्षणको लागि भन्दै स्काउट शिक्षक प्रकाशराज पाण्डे सगरमाथा आरोहण गर्ने भएका छन् ।
रामेछाप जिल्ला लिखु गाउँपालिका ७ का पाण्डे पायोनियर एड्भेन्चर प्रा.लिसंगको सहकार्य तथा सो कम्पनीका सञ्चालक लाक्पा शेर्पाको सहयोगमा सगरमाथा आरोहण गर्न लागेका हुन । संखुवासभा निवासी गाईड शेर्पा केटु हिमाल आरोहण गर्ने हालसम्मकै कान्छा आरोही हुन ।
विगत ११ वर्षदेखि शैक्षिक अभियान नेपाल स्काउटमा सक्रिय रहदैँ वालवालिका तथा किशोरकिशोरीको शारिरिक, मानसिक, वौद्धिक, सामाजिक, आध्यात्मिक तथा सम्वेगात्मक भावनाको विकासमा सकृय रहेका पाण्डेलाई नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा विदाइ गरिएको थियो ।
नेपाल स्काउटको राष्ट्रिय तदर्थ समितिका संयोजक चन्दन कौशिकले आरोही पाण्डेलाई नेपाल स्काउटको झण्डा र आधिकारिक पत्र दिएका थिए ।
सगरमाथा आरोहणको तयारीका क्रममा यसअघि उनले रसुवा जिल्लामा अवस्थित ५ हजार ८ सय ९० मिटर अग्लो वेडेन पावेल स्काउट हिमश्रृंखला दुईचोटी सफल आरोहण गरिसकेका छन् भने ६ हजार १ सय ६० मिटर अग्लो आइसल्याण्ड पिकको समेत सफलतापुर्वक आरोहण गरेका छन् ।

आरोही पाण्डेले नेपालको राष्ट्रिय झण्डाको साथै सगरमाथामा आफुसंग नेपाल स्काउटको झण्डा, पहिलोपटक विश्व स्काउटको झण्डा, म्यासेन्जर अफ पिसको झण्डा, २००७ सालका ४ शहिदहरु धर्मभक्त, शुक्रराज, गंगालाल र दशरथको तस्वीर लाँदैछन् । यसका साथै कूल जनसंख्याको करीव ४० प्रतिशत युवाहरु समेटेको राष्ट्रिय युवा परिषदको झण्डा र ललितपुर जिल्ला स्काउटको स्वर्ण महोत्सवको झण्डा पनि आफुसंग लाँदैछन् । उनले आफ्नो गृह जिल्ला रामेछापको नक्सा तथा रामेछापका स्थानीय ‘३ लाल’ को तस्वीर समेत लाँदैछन ।

मंगलबार आयोजित विदाई कार्यक्रममा संयोजक कौशिकका साथै राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगेल, ३ नं प्रदेशका अर्थ मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, पुर्व राज्यमन्त्री तथा हाल ३ नं प्रदेशका सांसद श्यामकुमार श्रेष्ठले विदाइ तथा शुभकामना दिएका थिए ।
आरोही पाण्डेलाई केहीदिन अघि प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित एक कार्यक्तममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राष्ट्रिय झण्डा र ४ जना शहिदको तस्वीर हस्तान्तरण गर्दै विदाई गरेका थिए ।







































