वालअधिकारका लागि पाण्डे सगरमाथामा

330

बलराम प्यासी
काठमाडौं ।
स्काउट शिक्षक प्रकाशराज पाण्डेले ‘वालवालिकाको हक तथा अधिकार संरक्षणको लागि’ सगरमाथाको सफल आरोहण गरेका छन् । नेपाल पर्यटन वोर्डका अनुसार पाण्डेले मंगलबार विहान सगरमाथाको सफल आरोहण गरेका हुन । पाण्डेसहित ५३ जना नेपाली र ४२ जना विदेशी आरोहीले मंगलबार सगरमाथाको सफल आरोहण गरेका थिए ।

आरोही पाण्डेले सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डाको साथै नेपाल स्काउटको झण्डा, विश्व स्काउटको झण्डा, म्यासेन्जर अफ पिसको झण्डा, २००७ सालका ४ शहिदहरु धर्मभक्त, शुक्रराज, गंगालाल र दशरथको तस्वीर पनि पुर्याएका छन् ।

यसका साथै कूल जनसंख्याको करीव ४० प्रतिशत युवाहरुको राष्ट्रिय युवा परिषदको झण्डा, ललितपुर जिल्ला स्काउटको स्वर्ण महोत्सवको झण्डा र आफ्नो गृह जिल्ला रामेछापको नक्सा तथा रामेछापका स्थानीय ‘३ लाल’ को तस्वीर समेत लगेका थिए ।

रामेछाप जिल्ला लिखु गाउँपालिका ७ का पाण्डे पायोनियर एड्भेन्चर प्रा.लिसंगको सहकार्य तथा सो कम्पनीका सञ्चालक लाक्पा शेर्पाको सहयोगमा सगरमाथा आरोहण गरेका हुन । संखुवासभा निवासी गाईड शेर्पा केटु हिमाल आरोहण गर्ने हालसम्मकै कान्छा आरोही हुन ।

पाण्डे विगत ११ वर्षदेखि शैक्षिक अभियान नेपाल स्काउटमा सक्रिय रहदैँ वालवालिका तथा किशोरकिशोरीको शारिरिक, मानसिक, वौद्धिक, सामाजिक, आध्यात्मिक तथा सम्वेगात्मक भावनाको विकासमा सकृय छन ।

यसअघि पाण्डेले रसुवा जिल्लामा अवस्थित ५ हजार ८ सय ९० मिटर अग्लो वेडेन पावेल स्काउट हिमश्रृंखला दुईचोटी र ६ हजार १ सय ६० मिटर अग्लो आइसल्याण्ड पिकको समेत सफलतापुर्वक आरोहण गरिसकेका छन् ।