Home निर्वाचन विजयादशमीको विदाई गर्दै राष्ट्रपतिद्वारा नवदुर्गाको दर्शन
भक्तपुर । विजयादशमीको विदाई गर्दै राष्ट्रप्रमुखबाट पूजा अर्चना गरिने नवदुर्गाको राष्ट्रपति विद्यादेवी भण्डारीले दर्शन गरेकी छन् ।
दसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमामा राष्ट्र प्रमुखहरुले पूजा अर्चना एवं दर्शन गरेर पर्व विदाई गरिने परम्परालाई निरन्तरता दिदै उनले भक्तपुरमा नवदुर्गाको दर्शन गरेकी हुन् ।
राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति भण्डारीले बुधवार साँझ ४ बजे मन्दिरमा पुगेर नवदुर्गाको पूजा एवं दर्शन गरि प्रसाद ग्रहण गरेकी हुन् । उक्त अवसरमा नवदुर्गाका मूल पुजारी जुलाल कर्माचार्यले राष्ट्रपतिलाई नवदुर्गा भवानीको टीका प्रसाद प्रदान गरेका थिए । यस्तै नवदुर्गा गणका नाईके इन्द्रबहादुर वनमालाले उनलाई नवदुर्गाको फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो प्रदान गर्ने परम्परा अनुसार नै उनलाई प्रदान गरिएको थियो ।
नवदुर्गा गणको जात्राका लागि समस्या भएको वनमालाहरुले बताउँदा राष्ट्रपति भण्डारीले भने मुलुकमा तीन तहको सरकार भई सकेको बताउँदै अव यस्ता समस्याको समाधान उनीहरुले नै गर्ने जवाफ दिएकी थिईन् ।
पुजारी दक्षिणाको लोभमा परे स् देवगण
नवदुर्गा देवगणहरुले पुजारी कर्माचार्यले केही हजार रुपैयाँ दक्षिणाको लोभ गर्दा आफूहरु राष्ट्रपतिसमक्ष नाच देखाउनबाट बञ्चित भएको गुनासो गरे।
मुकुटसहितको मुकुन्डोको दर्शन र पूजा गर्दा राष्ट्रप्रमुखले प्रत्यके मुकुन्डोमा दक्षिणा चढाउने परम्परा रहँदै आएको छ। यसरी चढाइने दक्षिणाको हकदार पुजारी हुने व्यवस्था छ। नवदुर्गा गणमा अष्टमातृका, महादेव, भैरव, गणेश, सिम्ह र दुम्ह गरी १३ वटा देवताका छुट्टाछुट्टै मुकुन्डो हुन्छन्।
‘मुकुन्डोलाई चढाइने केही हजार दक्षिणाको लोभ गरेर पुजारीले मुकुन्डो हस्तान्तरण गरेनन्’, एक नवदुर्गा देवगणले भने, ‘जसले गर्दा राष्ट्रपतिले नाच हेर्ने इच्छा व्यक्त गर्नुहुँदा पनि हामीले नाच देखाउन पाएनौं। हाम्रा प्रयास पनि सफल भएन।’
नवदुर्गा देवगणका नाइके इन्द्रबहादुर बनमालाका अनुसार बुधबार हेर्न नपाए पनि राष्ट्रपति भण्डारीले कुनै दिन नाच हेर्ने व्यवस्था गर्ने वचन दिएकी छन्।
देवगणलाई दक्षिणा एकहजार पाँच
राष्ट्रपति भण्डारीले नवदुर्गा देवगणलाई प्रतिव्यक्ति एक हजार पाँच रुपैयाँ खामबन्दी दक्षिणा चढाएकी छन्। गत वर्ष भने पाँच सय पाँच रुपैयाँ दक्षिणा चढाएकी थिइन्।
नवदुर्गा देवगणमा नाच नाच्ने, वाद्यवादन बजाउने र नाइके तथा नकीं गरी २२ जना छन्। ती सबैलाई राष्ट्रपति भण्डारीले समान एकहजार पाँच रुपैयाँ दक्षिणा चढाएको नाइके बनमालाले जानकारी दिए।
राष्ट्रपतिले वाचा पूरा नगरेको गुनासो
राष्ट्रपति भण्डारीले गत वर्ष आफूहरुसमक्ष गरेको वाचा पूरा नगरेको भने नवदुर्गा देवगण बेखुस छन्। गएको वर्ष राष्ट्रपति भण्डारीले उक्त पूजा आफ्नो अन्तिम पूजा हुनसक्ने बताएकी थिइन्। उनले यदि पुनः राष्ट्रप्रमुखको हैसियतमा नवदुर्गा मन्दिर पुगेँ भने केही न केही गर्ने वचन दिएको नवदुर्गा मन्दिरका भण्डारी धन बनमाला बताउँछन्।
भण्डारी गएको वर्ष पुनः राष्ट्रपतिमा दोहोरिएकी हुन्। जसअनुसार दोस्रोपटक राष्ट्रपति भएपछि भण्डारी बुधबार पहिलोपटक नवदुर्गा मन्दिर पुगेकी हुन्।
‘गत वर्ष राष्ट्रपति भण्डारीले आफू दोहो¥याएर नवदुर्गा मन्दिर आउने भए केही न केही गर्छु भन्नुभएको थियो’, भण्डारी बनमालाले भने, ‘हामीले त्यो बचन पूरा नभएकोतर्फ राष्ट्रपति भण्डारीको ध्यानाकर्षण ग¥यौं।’
देवगणको ध्यानाकर्षणपछि राष्ट्रपति भण्डारीले तीनचार दिन आफ्नो प्रतिनिधि पठाएर के गर्न सकिन्छ त्यसबारे जानकारी लिने वचन दिएको उनी बताउँछन्।
पुजारी कर्माचार्यले गरे राष्ट्रपतिको पूजा
राष्ट्रपति भण्डारीले यस वर्ष करिब २५ मिनेट लगाएर नवदुर्गा मन्दिरको पूजाआजा तथा प्रसाद ग्रहण गरेकी छन्। राष्ट्रपतिको तर्फबाट मन्दिरका पुजारी जुलाल कर्माचार्यले तान्त्रिक विधिअनुसार नवदुर्गा भवानीको पूजाआजा गरेका थिए। पुजारी कर्माचार्यलाई नकीं तेजमाया बनमालाले सहयोग गरेकी थिइन्।
भण्डारकोठामा पूजाआजापछि राष्ट्रपति भण्डारीलाई देवगण नाइके इन्द्रबहादुर र जयमल वनमालाले नवदुर्गा भवानीको दसैंको प्रसादको रुपमा एउटा बिमिरो, पञ्चरंगी धागोको डोरी बाटिएको गोका, पञ्चरंगी धागोको पासुका, फूलमाला र दसैंघरको जमरा चढाएका थिए।
राष्ट्रपतिलाई तलेजुको समेत प्रसाद
नवदुर्गा भवानीको पूजाआजापछि मन्दिरबाट बाहिरिने क्रममा राष्ट्रपति भण्डारीलाई भक्तपुर तलेजु आगम छेंका मूल नाइके नरेन्द्रप्रसाद जोशीले तलेजु भवानीको प्रसाद अर्पण गरेका थिए।
Related