भक्तपुर,। कालो पृष्ठभूमिमा सेतो अक्षरले लेखिएको ‘पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि विरुद्धको विरोध जुलुस तथा सभा’ ब्यानरको पछि स्कूल युनिफममै देखिएका एक विद्यार्थीले नारा लगाए,‘ओली तिम्रो पाराले’ ।
स्कुले युनिफर्ममै विरोधमा उत्रिएका उनलाई सरकारले पछिल्लो समयमा गरेको मूल्यवृद्धि त्यति चित्तबुझ्दो थिएन, सोही कारण उनी विरोध कार्यक्रममा सहभागी भएका हुन् । उनलाई जस्तै गरी धेरैलाई नेकपाका अध्यक्ष केपी ओली नेतृत्वको सरकारले गरेको मूल्यवृद्धि मन परेको छैन । त्यही कारण उनलाई साथ दिइरहेका थिए, ‘दुःख पायो साराले !’ भनी । उनकै अधुरो नारालाई पूरा गर्दै थिए । उनैलाई पछ्याउँदै साथ दिएका थिए, स्कुल युनिफर्ममै आएका उनका सहपाठीदेखि, झण्डा बोकी आएका अरु विद्यार्थी, युवा, शिक्षक तथा आम उपभोक्ताले ।
ओली सरकारले गत जेठ १९ गतेबाट लागू हुने गरी पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिविरुद्ध बुधबार आन्दोलनमा आएका विद्यार्थी तथा युवाहरुले संयुक्त रुपमा मूल्यवृद्धि तत्कालै खारेज गर्न माग गरेका छन् । यसको सर्वत्र विरोध भइरहेको छ । यो विषयम ानेपाल विद्यार्थी संघले पनि आन्दोलन थालेको छ । संघले सोमबारै भक्तुपरका प्रजिअलाई ज्ञापन पत्र बुझाइसकेका छन् ।
बुधबार प्रजिअ कार्यालय घेराउ गर्न आएका युवा तथा विद्यार्थीहरुले कम्युनिष्ट नामको सरकार हुँदा पनि मूल्यवृद्धि र कालोबजारीको समस्या विकराल बन्दै गएको बताउँदै भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायण भट्टमार्फत् प्रधानामन्त्रीको ध्यानाकर्षण गराउन ज्ञापन पत्र पनि बुझाए ।
भक्तपुरको कमलविनायक, च्याम्हासिँह, सूर्यमढी, दत्तात्रय, गोलमढी, सुकुलढोका, साकोठा, दरबारस्वायर हुँदै जिल्ला प्रशासन पुगेका उनीहरुले कालाबजारीयाहरुलाई कारबाही गर्न, भ्रष्टाचारीहरुलाई सँजाय दिन पनि माग गरे ।
नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघ भक्तपुरले आयोजना गरेको सो कार्यक्रममा बोल्दै युवा अध्यक्ष मीन बाटाले सरकारकै निकम्मापनको कारण मूल्यवृद्धि भएको र जनताले सास्ती भोगेको बताउँदै मूल्यवृद्धि फिर्ता नगरे अझ सशक्त आन्दोलन गर्ने पनि जनाए ।
‘हामी आजबाट सांकेतिक विरोधमा उत्रिएका छौं, हाम्रो जायज मागलाई वेवास्ता गरिएको खण्डमा हामी अझ कडा आन्दोलनमा उत्रिन्छौं ।’ प्रजिअलाई ज्ञापनपत्र बुझाएपछि आयोजित सभामा उनले भने । कार्यक्रममा मिलन गणेजू, अनिल फोँजूलगायतले मूल्यवृद्धिले परेको असरबारेमा धारणा राखेका थिए ।







































