काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तस्करीको तीन किलो सुनसहित चिनियाँ महिला पक्राउ परेकी छिन्। सोमबार दिउँसो चीनबाट नेपाल आएकी ४२ वर्षीया चिनियाँ महिला सिउजी जुमालाई भन्सार कर्मचारीले पक्राउ गरेका हुन्।
उनको साथबाट दुई किलो ९ सय ९४ ग्राम सुन बरामद भएको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायण सापकोटाले बताए। उनले आधा–आधा किलोको चार वटा सुनको बाला लगाएकी थिइन्। त्यस्तै, एक किलो बराबरको दुई वटा सुनको टुक्रा बरामद भएको सापकोटाले बताए।
सापकोटाले भने, ‘एक किलो सुन ज्याकेटमा लुकाएकी थिइन्। आगमनको भन्सार चेकिङमा उनी पक्राउ परेकी हुन्। बरामद गरिएको सुन एक करोड ३२ लाख रुपैयाँ बराबरको हो।’
एक करोडभन्दा धेरै मूल्यको भन्सार छलीसम्बन्धी अपराधको मुद्दा अदालतमा चल्ने भएकाले भन्सार कार्यालयले उनलाई मंगलबार अदालतमा पेश गरिने भन्सार कार्यालयले जनाएको छ।







































