‘विवादित डोलेश्वरमा राष्ट्रपति जानुहुन्नथ्यो’

1798

भक्तपुर । पुरातत्वविद्ले राष्ट्रपति विद्यादेवी भण्डारी भक्तपुरको सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित विवादित डोलेश्वर महादेव मन्दिर जान नहुनेमा जोड दिएका छन्।
उनीहरूले पुरातात्विक महत्वको प्राचीन डोलेश्वर महादेव मन्दिर जथाभावी आधुनिक निर्माण सामग्रीको प्रयोग गरी निर्माण गरिरहेको डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिको निमन्त्रणामा डोलेश्वर पुग्नु त्रुटिपूर्ण भएका बताएका हुन्। राष्ट्रपति भण्डारी मंगलबार श्रावणी मेलाको समापनमा सहभागी भएकी थिइन्।

‘समितिले पुरातत्व विभागको निर्देशनविपरीत प्राचीन मन्दिर सिमेन्टको ढलान गरी पुनर्निर्माण गरिरहेको छ’, विभागकी अधिकृत अरुणा नकर्मीले भनिन्, ‘पुनर्निर्माण रोक्न विभागले बारम्बार ताकेता गर्दा पनि समितिले बेवास्ता गर्‍यो। यस्तो ठाउँमा राष्ट्रप्रमुख जानुहुन्नथ्यो। उहाँ (राष्ट्रपति) जाँदा नेपाली मौलिकता मास्नेहरू उत्साहित हुनेछन्।’

गत वर्ष पनि श्रावणी मेलाको समापन समारोहमा सहभागी हुन भदौ ६ गते नै राष्ट्रपति भण्डारी डोलेश्वर गएकी थिइन्। समितिले पहिलो राष्ट्रपति रामवरण यादवलाई पनि मेलाको समापनमा प्रमुख अतिथि बनाउन निम्तो दिँदै आएका थिए। तर सरकारी निकायसँग विवाद भएको थाहा भएर उनी डोलेश्वर गएनन्।

करिब एक वर्षअघि विभागले १९९० सालको भूकम्प अघिकै संरचनाअनुसार मौलिक एवं परम्परागत शैलीमा मन्दिर पुनर्निर्माण गर्न १ करोड रुपैयाँ बजेटसमेत विनियोजन गरेको थियो। तर, समितिले मौलिक एवं परम्परागत शैलीमा मन्दिर बनाउनुपरे विभागको सहयोग नै नलिने घोषणा गरी आधुनिक शैलीमा पुनर्निर्माण थालेको थियो। विभागले पुनर्निर्माण रोक्न बारम्बार ताकेता गरे पनि समितिले बेवास्ता र अटेर गरी मन्दिर आधुनिक संरचनामा तयार गरिसकेको छ।

दुईतले प्यागोडा शैलीको मन्दिर भूपतीन्द्र मल्लले जीर्णोद्धार गर्न लगाएका थिए। जीर्णोद्धारसम्बन्धी शिलालेख मन्दिर परिसरमा अझै छ। तर १९९० सालको भूकम्पमा मन्दिर ध्वस्त भएपछि २००३ सालमा राणा प्रधानमन्त्री मोहनशमशेरले गुम्बज शैलीमा पुनर्निर्माण गराए। त्यो मन्दिर २०७२ साल को भूकम्पमा क्षतिग्रस्त भएपछि अहिले दुईतले प्यागोडा शैलीमा सिमेन्टको ढलान गरी पुनर्निर्माण भइरहेको छ।

‘राष्ट्रप्रमुख, सरकार प्रमुख र मन्त्रीहरु विनाजानकारी जुनसुकै कार्यक्रममा जाँदा गलत प्रवृत्तिले प्रोत्साहन वा प्रेरणा पाउन सक्छ’, विभागकी पुरातत्वविद् नकर्मी भन्छिन्, ‘केही वर्षअघिका संस्कृतिमन्त्री गोरेबहादुर खपाङ्गी विनाजानकारी स्वयम्भूस्थित एउटा गुम्बाको उद्घाटन गर्न जाँदा धेरै विवाद भएको थियो। अहिले विवाद भएकै ठाउँमा राष्ट्रपति जाँदा नेपाली मौलिक एवं परम्परागत शैली मास्नेहरूलाई आशीर्वाद दिएजस्तो हुन जान्छ।’

राष्ट्रपति भण्डारीले पुरातात्विक महत्वको डोलेश्वर महादेव मन्दिरलाई सिमेन्टको ढलान गरेर आधुनिक शैलीमा पुनर्निर्माण गर्ने गुरुयोजना बनाउने इन्जिनियर कुमार उप्रेतीलाई सम्मानसमेत गरेकी थिइन्। कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले समेत मन्दिरबारे पुरातत्व विभागसँगको विवादबारे अनभिज्ञता प्रकट गरेका थिए।