काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको पार्टीको विशेष केन्द्रीय महाधिवेशन आजदेखि सुरु हुँदैछ । काठमाडौँको भृकुटीमण्डपमा दिउँसो १ः०० बजे महाधिवेशनको औपचारिक उद्घाटन हुने तय भएको छ ।
उद्घाटनअघि बिहान ११ः०० बजे सुन्धारा, रत्नपार्क, शङ्करदेव क्याम्पस, कमलपोखरी, कुपण्डोललगायत विभिन्न स्थानमा नेता तथा कार्यकर्ताहरू भेला भई र्यालीसहित भृकुटीमण्डपतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको विशेष महाधिवेशन जनपरिचालन तथा जुलुस व्यवस्थापन समितिका संयोजक जगदीश्वरनरसिंह केसीले जानकारी दिए ।
उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा ५० जना अतिथि अट्ने मञ्च निर्माण गरिएको छ । मञ्चअगाडि छ हजारभन्दा बढी सहभागी अट्ने गरी कुर्सीहरूको व्यवस्थापन गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले बताए । महाधिवेशन स्थललाई कांग्रेसका झण्डा, गेट, ब्यानर तथा प्रचार सामग्रीले सजाइएको छ ।
विशेष महाधिवेशनको सभापतित्व कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले गर्नेछन् । यस महाधिवेशनमा अन्य राजनीतिक दलका नेताहरूलाई आमन्त्रण नगरिएको आयोजक समितिले जनाएको छ । मुलुकभरबाट सहभागी हुने अधिकांश महाधिवेशन प्रतिनिधिहरू काठमाडौँ आइसकेका छन् ।
महाधिवेशन प्रतिनिधिहरूका लागि स्थलमै खाना तथा नास्ताको व्यवस्था गरिएको छ । आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाका अनुसार काठमाडौँका विभिन्न स्थानमा तीन हजार ६०० प्रतिनिधिका लागि आवासको व्यवस्था गरिएको छ । साथै आवश्यक परे थप प्रतिनिधिका लागि तत्काल व्यवस्थापन हुने व्यवस्था पनि मिलाइएको छ ।
उद्घाटन सत्रपछि बन्दसत्र पुस २८ गते बिहानदेखि भृकुटीमण्डपको सभाहलमा सुरु हुनेछ । बन्दसत्रमा छलफल हुने नीतिगत दस्तावेजहरूका विषयमा भने हालसम्म विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।
महामन्त्रीद्वयको अगुवाइमा विशेष महाधिवेशन
महामन्त्रीद्वय थापा र शर्माले कांग्रेस विधानको धारा १७(२) अनुसार विशेष महाधिवेशन माग भएको तीन महिनाभित्र महाधिवेशन आह्वान गर्नैपर्ने कानुनी बाध्यता रहेको उल्लेख गरेका छन् । उनीहरूले संयुक्त विज्ञप्तिमार्फत विधानको पालना गर्दै पार्टीलाई थप जीवन्त, सुदृढ र जनमुखी बनाउन विशेष महाधिवेशनमा सक्रिय सहभागिताका लागि महाधिवेशन प्रतिनिधिहरूलाई आह्वान गरेका छन् ।
महाधिवेशन प्रतिनिधिहरूले बदलिँदो राजनीतिक परिस्थितिमा कांग्रेसलाई मजबुत बनाउने, जनभावनाअनुरूप नीति निर्माण गर्ने तथा नयाँ ऊर्जा र नेतृत्वमार्फत पार्टीको समग्र पुनर्निर्माणका लागि विशेष निर्णय अपरिहार्य भएको उल्लेख गर्दै निवेदन दर्ता गरिसकेको महामन्त्रीद्वयको भनाइ छ । उनीहरूले जस्तोसुकै कठिन परिस्थितिमा पनि पार्टीलाई एकढिक्का राख्न आफूहरू प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।







































