शान्ति, एकता, न्याय नेपालका लागि महँगा शव्दावली

356

ललितपुर फागुन । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपालमा शान्ति, एकता, न्याय अति महँगा शव्दावली भएकाले देशमा संस्थागत प्रजातन्त्र विकासका लागि यी विषयहरुमा आम सरोकारवालाहरुले निकै मेहनत र लागिपर्नुपर्ने  आवश्यकता औंल्याउनु भएको छ ।

राष्ट्रिय बौद्धिक केन्द्रद्वारा राजधानीमा आयोजित राष्ट्रिय एकता सभा वर्तमान नेपालको सन्दर्भमा विषयक एक कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उहांले उक्त कुरा वताउनु भएको हो ।

हामीले संविधान कार्यान्वयनका क्रममा  तीनै तहका सरकार त बनायौं, यो राम्रो हो तर आम मानसमा असमानता, अन्याय र विभेद भैरहे नेपालको लोकतन्त्रको लक्षित उद्धेश्य प्राप्त हुन नसक्ने उहाको ठहर थियो ।

प्रजातन्त्रमा सवैको स्वार्थ, रुची र आवश्यकताको संवोधन भएमा देश आर्थिक समृद्धितिर लम्किन सहज हुने उहांको धारणा छ ।

कार्यक्रममा त्रिविका पूर्व उपकुलपति तथा जापानका लागि पूर्व नेपाली राजदूत केदारभक्त माथेमाले अहिले विश्वका विभिन्न सभ्य मुलुकको विकास र प्रजातन्तको स्थिति अध्ययन गर्ने हो भने शिक्षा नै यस्तो जड मानिएको छ, जसले तहां समानता प्रदान गरी वास्तवमा त्यसबाट नै राष्ट्र्यि एकताको जगेर्ना हुन सकेको छ भन्नुभयो ।

नेपालको सन्दर्भमा पनि अव देशले संविधान कार्यान्वयनको क्षेत्रमा शिक्षा नीतिलाई चुस्त, दुरुस्त र देशको आवहवा र हावापानी माटो अनुसार विकास गर्न सकियो भने राष्ट्र्यि एकताका लागि  त्यो ठूलो उपलव्धि हुन सक्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा आफ्नो धारणा राख्दै संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य रेखा यादवले नागरिकहरुलाई समान अवसर प्राप्त नभएसम्म देश उभो लाग्न नसक्ने उल्लेख गर्दै मधेशी समुदायहरु पनि यही अवस्थाबाट गुज्रिरहेको वताउनु भयो । देशमा शिक्षा नीति बनाउने नीति निर्माताहरुको नियत नै सफा हुनुपर्ने उहांको धारणा थियो ।

समारोहमा नेकपा एमाले केन्द्रिय समितिका सदस्य रुपनारायण श्रेष्ठले प्राचीन कालदेखि एकतामा आवद्ध नेपाली समाजले विभिन्न चरणको आन्दोलन पार गर्दै प्राप्त गरेको संघीयताबाट अव देशको आर्थिक समृद्धितर्फ अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

माओवादी केन्द्रका प्रदेश नं. ३ का नवनिर्वाचित सदस्य राजकाजी महर्जनले विभिन्न राजनैतिक संक्रमण पार गर्दै प्राप्त गरेको संघीयताबाट नै सवै नेपालीलाई एक सूत्रमा आवद्ध गरी आर्थिक क्रान्तिबाटै अव मुलुकलाई समृद्धितिर डो¥याउन सकिने धारणा राख्नुभयो ।

राष्ट्रिय सभामा राष्ट्रिय जनता पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने वृषेश चन्द्र लालले नागरिक नागरिक वीचमै विभेद भएको वर्तमान परिप्रक्ष्यमा मधेशवादी दलहरुले संविधान संशोधनको मुद्धालाई राष्ट्रिय महत्वकासाथ उठाएको वताउनु भयो ।
बरिष्ठ स्वतन्त्र पत्रकार युवराज गौतमले हामी हामी वीचको एकतालाई अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुले कमजोर पार्दै लगेको स्थितिमा हामीले स्वदेशी आत्मालाई रक्षा गर्न सक्यौं भनेमात्र नेपाली भनेर गर्व गर्ने सक्ने ठाउं रहन्छ, होइन भने हामी पराधीन हुनुवाहेक विकल्प रहदैंन भन्नुभयो ।

नेपालमा निष्पक्ष र निस्कपट मान्छे नै भएन, सत्यलाई सत्य र असत्यलाई असत्य भन्ने मान्छेको देशमा अभाव हुंदै गैरहेकोले देशमा स्वाधिन भएर वस्न पाउनु पनि कठिन हुने दिन आउंदै गरेको आभाष भएको बताउनु भयो ।

पूर्व वरिष्ठ सशस्त्र प्रहरी प्रमुख रविराज थापाले राष्ट्र्यि एकता विना देशको विकास र समृद्धि टाढाको कुरा हो भन्नुभयो ।


सभापतिको आसनबाट राष्ट्रिय बौद्धिक केन्द्रका अध्यक्ष पवन लाल श्रीवास्तवले नेपालका राजनैतिक दलहरु आआफ्ना स्वार्थमा अल्झिराख्यो भने हाम्रो देश समृद्ध र शक्तिशाली मुलुकको रुपमा अगाडि बढ्न सक्तैन भन्नुहुंदै राष्ट्रिय एकता विना नेपालको अस्तित्व नै समाप्त हुने हुंदा देशका आम नागरिक र  विभिन्न दलहरु राष्ट्रिय एकता जगेर्नाका  लागि एक हुनुपर्ने धारणा राख्नुभयो ।
समारोहमा उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रिय अध्यक्ष कुश कुमार जोशी, ललितपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद दाहालको समेत सहभागिता थियो ।

धन्यवाद ज्ञापन गर्दै राष्ट्रिय बौद्धिक केन्द्रका सदस्य अर्जुन बिष्टले राष्ट्रियता र राष्ट्रिय एकताको सवालमा केन्द्रले आफ्ना कार्यक्रमहरु अभियानकै रुपमा देशव्यापी रुपमा सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन सुधाकर ज्ञवालीले गर्नुभएको थियो ।