
विराटनगर। ‘प्रिमियर’ ब्रान्डमा बिजुलीका तारको उत्पादनमा सफलता हासिल गरेको शारडा ग्रुपले एके राठी ग्रुपसितको साझेदारीमा ‘प्रिमियर’ ब्रान्डमै फलामे डन्डीको उत्पादन सुरु गर्दैछ। कम्पनीले घटस्थापनाको शुभ मुहूर्त पारेर उत्पादन सुरु गर्ने छ।
सुनसरीको दुहबी नगरपालिकामा १ अर्ब २५ करोड रुपैयाँको लगानीमा स्थापित प्रिमियर स्टिल प्रालि प्रदेश १ कै सबैभन्दा ठूलो फलामे डन्डी उद्योग भएको कम्पनीले दाबी गरेको छ।
उद्योगका सञ्चालक अनुपम राठीले थप १ सय २५ करोड रुपैयाँ चालु पूँजीका लागि लगानी गर्ने बताए। ‘उत्पादन सुरु भएपछि कम्तीमा ३ महिनाको उधारोमा माल नबेची सुख छैन’, सञ्चालक राठीले भने, ‘त्यसैले चालु पूँजीलाई पनि १ सय २५ करोड नै छुट्याउनु परेको छ।’
शारडा ग्रुप र एके राठी ग्रुपका साझेदारीमा साबुन, पिठो, मैदा, वनस्पति घिउ, अक्सिजन, राइस ब्रान, सोलभेन्ट, जुट लगायतका उद्योग र व्यापार तीन दशकदेखि सञ्चालित छन्।
सञ्चालक राठीका अनुसार, अहिलेसम्मकै सबैभन्दा आधुनिक र उन्नत प्रकारको भारतीय मेसिनबाट प्रति घण्टा ४० मेट्रिक टन फलामे डन्डी उत्पादन गर्ने क्षमताको कारखाना स्थापना गरिएको छ। राठीले उद्योग प्रतिदिन २० घण्टा सञ्चालन गरिने र ४ घण्टा मेन्टेनेन्स गरिने बताए।
प्रिमियर स्टिलमा भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनम, उडिसाको रायगढ, झारखण्डस्थित जमसेदपुर र पश्चिम बङ्गालस्थित दुर्गापुरबाट कच्चा पदार्थ बिलेट ल्याइनेछ। उद्योगमा ८ देखि ४० एमएमसम्मका टिएमटी रडको उत्पादन गरिने छ।
फलामे डन्डीको मुख्य कच्चा पदार्थ बिलेट हो। यस उद्योगमा ठूलो आकारको बिलेट प्रयोग हुने भएकाले खेर जाने सामग्री कम र उत्पादनको गुणस्तर बढी हुने राठीको भनाइ छ।
‘परम्परागत र पुराना डन्डी उद्योगमा एउटै बिलेटलाई धेरै पटक पेलेर डन्डी बनाउनु पर्छ’, उनले भने, ‘तर हाम्रो कारखानामा एकै पटकको पेलाइमा चाहेको डन्डी उत्पादन गर्न सकिन्छ।’ साथै उत्पादित वस्तुको बाइन्डिङ र लोडिङ स्वचालित (अटोमेटिक) रूपमा हुने राठीले उल्लेख गरे।
उद्योगलाई ६ मेगावाट विद्युत् आवश्यक पर्ने उनले जानकारी दिए। उद्योगको मुख्य बजार प्रदेश १ र २ रहेको उनले बताए। केही समयपछि उत्पादनलाई मुलुकभरि नै पुर्याउने लक्ष्य राखिएको छ।
एक वर्षभित्रै नेपालभरीमा सिमेन्ट र फलामे डन्डीका उद्योगको उत्पादन अहिलेका तुलनामा दोब्बर हुने राठीको दाबी छ। ‘लोडसेडिङ क्रमशः अन्त्य हुँदैछ र हाइड्रो पावर पनि धमाधम सुरु हुँदैछन्’, उनले भने, ‘यही गतिमा अगाडि बढ्ने हो भने मुलुकमा पूर्वाधारको विकास तीव्र गतिमा हुने कुरामा शङ्का छैन। त्यसैले पूर्वाधार विकासका उद्योगहरूको सम्भावना बढेर गएको छ।’
पूर्वाञ्चलमा सबैभन्दा पहिले फलामे डन्डीको उद्योग शारडा ग्रुपले नै मोरङको टङ्कीसिनवारीमा स्थापना गरेको थियो। यही ग्रुपको अग्रसरतामा ४० को दशकमा खुलेका एभरेस्ट आइरन र हेटौँडा आइरन नामका उद्योग हाल बन्द भइसकेका छन्। ५० को दशकको सुरुआतमा अरुण तेस्रो आउने खबर सँगसँगै मोरङ र सुनसरीमा गरी १२ वटा फलामे डन्डीका कारखाना खुलेका थिए। तीमध्ये १० वटा बन्द भए।
‘हामी अहिले पुनर्निर्माण र पुनरुत्थानको अवस्थामा छौँ’, प्रिमियरका सञ्चालक अनुपमको विश्वास छ, ‘यो अवस्थामा अब हामीले उद्योग बन्द गर्नुपर्ने छैन। मुलुकका अन्य भागमा छड र सिमेन्टका अरू उद्योग पनि खुल्दैछन्। मैले दुबै उद्योगको भविष्य उज्ज्वल देखेको छु।’
शारडा र राठी ग्रुपको संयुक्त लगानीमा प्रिमियर ब्रान्डमा फलामे डन्डीको उद्योग को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।











































