ललितपुर । २६ औं अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा कुपण्डोलको सनराइज क्याफेको हलमा शुरु भएको तीनदिने चित्रकला ‘सृजनशिल पँखेटा’ प्रदर्शनी मंगलबार सम्पन्न हुँदैछ ।
शारिरीक रुपमा अपांगता भएका सातजना चित्रकारहरुले कोरेका विभिन्न विषयका ४४ वटा सुन्दर चित्रहरु प्रदर्शनीमा राखिएका छन् । ‘सृजनशिल पँखेटा’ नाम दिएको सो प्रदर्शनी राष्ट्रिय शारिरीक अपांग संघ नेपाल (एनएपिडि) ले आयोजना गरेको हो ।
चित्रकारहरु मनिष महर्जन, लक्ष्मी भासिमा, सविता सेन (चेतकुमारी), केशबहादुर गुरुंग, रमेश वाराही, सुन्दर श्रेष्ठ र कुमार तामांगद्वारा सिर्जित चित्रहरु समावेश गरिएको सो प्रदर्शनीमा गुरुंग, भासिमा र तामांगका केही चित्र विक्री भएको छ ।
अन्य चित्रकारहरु विभन्न कारणले जन्मँदैदेखि र जन्मेको केही समयदेखि अपांग भएतापनि चित्रकार गुरुंग भने २०७२ बैशाख २९ गतेका भूकम्प पीडितलाई राहत बाँड्न जाँदा दुर्घटनामा परी मेरुदण्डमा चोट लागेका कारण २ वर्षअघिदेखि अपांग भएका हुन ।
शारिरीक रुपमा अपांगता भएतापनि भित्री सिर्जना अभूतपुर्व रहेका चित्रकारहरुले बनाएका चित्रहरु कुनै व्यवसायीक चित्रकारहरुको भन्दा कमसल नभएको प्रदर्शनी आयोजक समितिका अध्यक्ष किरण शिल्पकारले बताए ।






































