शिक्षामन्त्री पोखरेल र जापानी राजदूत साइगोबीच भेटवार्ता

374

 

काठमाडौं ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गरिराजमणि पोखरेल र नेपालका लागि जापानी राजदूत मासामिचि साईगोबीच मंगलबार भेटवार्ता भएको छ ।
भेटमा मन्त्री पोखरेलले राजदूत मासामिचि साईगाको कार्यकालमा नेपाल र जापानबीचको सम्बन्धमा बढोत्तरी हुने विश्वास व्यक्त गर्नुभयो । मन्त्री पोखरेलले नेपालको समग्र विकासमा जापानी सहयोगमा अझै बढोत्तरी हुने विश्वास व्यक्त गर्दै नेपाल र जापानबीचको पारस्पारिक सम्बन्धको सात दशकदेखि हुँदै आएको विषय पनि उल्लेख गर्नुभयो ।
मन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्रमा जापानले प्रत्यक्ष एवं परोक्ष रुपमा सहयोग गर्दै आएको जसका कारण नेपालको विद्यालय शिक्षादेखि उच्च शिक्षासम्मको विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै आभार प्रकट गर्नुभयो ।
मन्त्री पोखरेलले भन्नुभयो—‘ नेपालमा २०७२ मा गएको विनासकारी भूकम्पपछिको तत्कालको राहत, पुनर्स्थापन र क्षतिग्रस्त विद्यालय भवनहरुको पूननिर्माणमा जापान सरकारको सहयोग विशेष उल्लेखनीय छ ।’
मन्त्री पोखरलले नेपालमा जापान सरकारको सहयोगमा संचालित परियोजनाहरु मार्फत विद्यालय शिक्षा र विज्ञान तथा प्रविधिको क्षेत्रमा हुँदै आएको सहयोगका लागि आभार व्यक्त गर्नुभयो । आगामी दिनमा यो सहयोग कायम रहने विश्वास पनि व्यक्त गर्न भयो । उहाँले शिक्षण अस्पताल महाराजगन्जको स्थापनामा र गत वर्ष उपलब्ध गराइएको अत्याधुनिक स्वास्थ्य उपकरणहरुको सहयोगले नेपालको स्वास्थ्य क्षेत्रमा पनि जापानको महत्वपूर्ण भूमिका रहेको कुरा स्मरण गराउनुभयो ।
जापानको सहयोगमा सञ्चालित सन २००९—२०१५ विद्यालय क्षेत्र सुधार कार्यक्रम को कार्यान्वयनको अवधिमा जापान सरकारको सहयोग उल्ल्खनीय रहेको एवं हाल संचालनमा रहेको विद्यालय क्षेत्र विकास योजना २०१६—२०२३ का लागि जापान सरकार बाट प्राप्त हुने १५ मिलियन अमेरिकी डलर पनि नेपालको विद्यालय शिक्षाको विकासका लागि उल्लेखनीय हुने बताउनुभयो ।
जापान सरकारको सहयोगमा सन् २०२३ पछि पनि निरन्तर रही दिगो विकास लक्ष्य २०३० हासिल गर्नेसम्म पनि रहनेमा विश्वास व्यक्त गर्दै मन्त्री पोखरेलले भूकम्प पछिको विद्यालय पुननिर्माणकालागि जापान सरकारबाट प्राप्त १०० मिलियन अमेरिकी डलर विशेष उल्लेखनीय रहेको बताउनुभयो । भूकम्प प्रभावित ६ जिल्लाका २८३ विद्यालयहरुका पूर्ण भौतिक संरचना जापान सरकारको सहयोगमा निर्माण भइरहेको पनि बताउनुभयो । करीव १०० विद्यालय भवनहरु निर्माणाधीन अवस्थामा रहेको बताउनुभयो ।
भेटका क्रममा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले हाल नेपाली विद्यार्थीहरुका लागि जापान प्रमुख गन्तव्य बनेको बताउँनुहुँदै हरेक वर्ष १० हजारको हाराहारीमा नेपाली विद्यार्थीहरु जापानका प्रसिद्ध विश्व विद्यालयहरुमा उच्च शिक्षा हासिलका लागि जाने गरेको बताउनुभयो । जापानमा उच्च शिक्षा हासिल गर्न चाहने मध्ये नेपालका विपन्न वर्गका मेधावी विद्यार्थीहरुलाई छात्रवृत्तिको अवसर प्राप्त हुन सके समन्यायिक अवसरमा वृद्धि हुनुका साथै नेपालको ज्ञान र प्रविधिमा आधारित विकासका लागि जनशक्तिको उपलब्धतामा सहयोग हुने बताउनुभयो ।

त्यस्तै उहाँले नेपालबाट हरेक वर्ष उल्लेख्य संख्यामा सरकारी कर्मचारीहरुले उच्चशिक्षा तथा विभिन्न क्षेत्रमा क्षमता विकास तालिमका लागि जापानमा अवसर पाउँदै आएको कुरा पनि उल्लेख गर्नुभयो । यसप्रकारको अवसर प्राप्त हुनु पनि नेपालका लागि ठूलो सहयोग भएको मन्त्रि पोखरेलले बताउनुभयो । यस अवसरबाट अन्तर सांस्कृतिक समझदारी बढ्नुका साथै ज्ञान सीप र प्रविधिको स्थानान्तरण समेत हुँदै आएको उहाँको भनाइ थियो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यसवर्ष संचालन गरेको विद्यार्थी भर्ना अभियान नेपालको शिक्षाको इतिहासमा महत्वपूर्ण पहलको रुपमा लिइएको पनि छलफलका क्रममा मन्त्री पोखरेलले बताउनुभयो । जसको फलस्वरुप हालसम्म विद्यालय बाहिर रहेका लगभग ३ लाख बालबालिका विद्यालय भर्ना भएको बताउनुभयो ।
नेपालको विद्यालय शिक्षा देखि उच्च शिक्षा सम्म सुधार गर्ने अभिप्रायले राष्ट्रिय शिक्षा आयोगको गठन गरिएको र जसको माध्यमबाट नेपालको शिक्षाको सुधारको मार्ग्चित्र कोरिनेमा विश्वस्त रहेको मन्त्री पोखरेलले बताउनुभयो ।
भेटका क्रममा जापानी राजदूत मासामिचि साईगाले नेपालको शिक्षा क्षेत्रको विकासमा जापान सरकारको सहयोग निरन्तर रहने बताउनुभयो । उहाँले जापान र नेपालबीचको लामो दौत्य सम्बन्ध आपसी सम्बन्धका साथ अगाडि बढ्ने बताउनुभयो । जापानी राजदूत साइगोले विद्यालय क्षेत्र विकास योजना र विद्यालय क्षेत्र सुधार कार्यक्रम मा जापानी सरकारको सहयोग निरन्तर रहनेमा विश्वास दिलाउनुभयो ।