काठमाडौं ।
नीजि विद्यालयले शैक्षिक सत्र २०७५ को नयाँ विद्यार्थी भर्ना लिने काम सकेर कक्षा सञ्चालन शुरु गरिसकेपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नीजि विद्यालयलाई विद्यालय हातामा पाठ्यपुस्तक लगायतका सामाग्री विक्री नगर्न निर्देशन दिएको छ ।
नीजि विद्यालयमा आफ्ना छोराछोरी पढाइरहेका अभिभावकले भने शिक्षा विभागको यो निर्णय ‘कर्मकाण्डी’ भएको बताएका छन । आफ्ना छोराछोरीलाई महंगो शुल्क तिरेर भर्ना गरी, विद्यालयबाटै कितावकापी र पोशाकसमेत किनी पढाई शुरु भइसकेपछि शिक्षा विभागले यो निर्णय गर्नु दुःखदमात्रै नभई नीजि विद्यालयको पक्षमा गरिएको अभिभावकको आरोप छ ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलको उपस्थितिमा शनिबार शिक्षा विभागमा बसेको सर्वपक्षिय वैठकपछि मन्त्रालयले ५ वुँदे विज्ञप्ती प्रकाशित गर्दै नीजि विद्यालयलाई विद्यालय हाताभित्र पाठ्यपुस्तक, स्कुल व्याग र ड्रेस विक्रीवितरणको काम तत्काल रोक्न निर्देशन दिएको छ ।
महानगरपालिका, नगरपालिकाका प्रमुख, आन्दोलनरत विद्यार्र्थी संगठनका पदाधिकारीहरु, प्याब्सन÷ एनप्याब्सनका अध्यक्ष तथा पदाधिकारी, अभिभावक संघका अध्यक्ष तथा पदाधिकारीहरु एवम् शिक्षा मन्त्रालय र विभागका अधिकारीहरु सम्मिलित सर्वपक्षिय वैठकपछि मन्त्रालयले ५ वुँदे विज्ञप्ती जारी गरेको हो ।
मन्त्रालयद्वारा जारी विज्ञप्तीमा विद्यालय हाताभित्र पाठ्यपुस्तक, स्कुल व्याग र ड्रेस विक्रीवितरणको काम तत्काल रोक्नुपर्ने लगायत संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका २०७२ लाई कार्यान्वयन गर्दै गैरकानूनीरुपमा बढाईएको शुल्क फिर्ता या समायोजन गर्ने, नीजि विद्यालयले दिँदै आएको १० प्रतिशत छात्रवृत्ति पाउने विद्यार्थीहरुको नामावली पारदर्शीरुपमा विद्यालयको सूचना पाटीमा टाँस्नुपर्ने कुरा उल्लेख गरिएको छ ।
यसैगरि निर्देशिका पालना गराउन अनुगमन समिति बनाई स्थानीय तहबाट अनुगमन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सहजिकरण गर्ने र गैरकानूनीरुपमा बढाइएको शुल्क फिर्ताको माग गर्दै आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै आएका संयुक्त विद्याथर््ी संगठनको सम्पूर्ण विरोधका कार्यक्रमहरु शनिबारदेखि नै लागु हुने गरि फिर्ता गर्ने पनि सहमति भएको शिक्षा विभागका उपनिर्देशक बलबहादुर कार्कीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
नीजि विद्यालयहरुले बढाएको शुल्कको विरोधमा हरेक शैक्षिक सत्रको शुरुमा विद्यार्थी संगठनहरुले विरोध गर्दै आए अनूरुप यो वर्षपनि विद्याथर््ी संगठनले विरोधका कार्यक्रम गर्दै आएका थिए ।







































