भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले देशमा शैक्षिक माफिया बढेको बताएका छन् ।
शैक्षिक माफिया बढ्दा शिक्षा क्षेत्रको बद्नाम मात्र नभएर सरकारमा तिनै शैक्षिक माफियाको जगगजी बढेको बताए । ‘शिक्षामा प्रतिगामी व्यक्ति र तत्वको प्रवेश भएको छ, व्यापारीहरुको प्रवेश भएको छ, यसले कम आय भएका अभिभावकका सन्तानले शिक्षा पाउन सकेका छैनन् ।’ उनले भने ।
भक्तपुरको मध्यपुरठिमीको लायकूस्थित आदर्श माध्यमिक विद्यालयको ५३ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष बिजुक्छेंले शिक्षा पाउने अधिकारबाट बञ्चित गराउने दाउमा सरकार लागिरहेकोले त्यतातर्फ शिक्षकले ध्यान दिनुपर्ने बताए ।
उनले सरकारमा गएका दलहरुलाई, नेताहरुलाई पनि ठीक ठाउँमा ल्याउने काममा शिक्षकले भूमिका निर्वाह गर्न सक्ने उल्लेख गर्दै देशप्रति बफादार नागरिक तयार गर्ने दायित्व शिक्षककै भएको चर्चा गरे ।
कार्यक्रममा प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणलाई लक्षित गरी अध्यक्ष बिजुक्छेंले सरकारमा गएका दलका नेताहरुले नेपालका शत्रु र मित्र चिन्न नसक्दा नेपालीहरु त्यसको सिकारमा परिरहेको पनि बताए । उनले भने, ‘नेताहरुले देशको स्वार्थभन्दा बढी आफ्नो, आफ्ना आसेपासे र परिवारको, पार्टीको स्वार्थ हेर्दा त्यसले देशैलाई घाटा भइरहेको छ, यतातिर सरकारमा गएका दलहरु र तिनका नेताहरुमा अभाव छ ।’
उनले देशको समसामयिक परिस्थितिबारेमा विद्यार्थीलाई जानकारी दिँदै विद्यार्थीलाई आलोचनात्मक तरिकाले सोच्न सक्ने बनाउन जरुरी भएकोमा जोड दिए । उनले भने, ‘ विद्यार्थीलाई प्रष्ट प्रष्ट रुपमा राजनीतिक घटनाक्रम अनि त्यो घटनाक्रमले देशलाई पर्ने असरबारेमा बताउनुपर्छ, त्यसरी बताउन सकिएन भने भोलि शिक्षकप्रति तिनै विद्यार्थीले गुनासो गर्नेछन् ।’
कार्यक्रममा उनले विद्यालयको भौतिक तथा शैक्षिक उन्नयनका लागि विभिन्न किसिमले सहयोग गरेका विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरेका थिए ।
कार्यक्रममा मध्यपुरठिमीका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले स्थानीय तहमा आएको माध्यमिक तहसम्मको शिक्षालाई नगरपालिकाले ग्रहण गर्दै अघि बढेको बताउँदै निजि र सामुदायिक विद्यालयबीचको भिन्नता हटाउने काममा अग्रसर बन्ने बताए ।
कक्षा ईसिडीदेखि कक्षा १२ सम्म गरी ५०४ जना छात्र र ४ सय ६६ जना छात्रा गरी कूल ९७० विद्यार्थी तथा ४० जनशक्ति रहेको उक्त विद्यालयको वार्षिकोत्सवमा शिक्षाका विभिन्न व्यत्तित्वहरुले मध्यपुरठिमीको शिक्षा विकासमा आदर्श स्कुलले खेलेको भूमिकाको चर्चा गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक उद्धव सुजखूले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयलाई मध्यपुरठिमीको उत्कृष्ट र नमूना विद्यालय बनाउने योजना रहेको सुनाए ।
पूर्व विव्यस अध्यक्ष गंगाराम, वरिष्ठ सहायक प्रअ बुद्धिकुमार घोलगायतले विद्यालयलाई उत्कृष्ट नतिजा र गुणस्तरीय शिक्षा दिने केन्द्रको रुपमा विकास गर्न आफूहरु लागिरहेको बताए ।
विद्यालयका विभिन्न कक्षाका विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुति प्रदर्शन गरिएको उक्त कार्यक्रममा विभिन्न पुरस्कार पनि प्रदान गरिएको विद्यालयले जनाएको छ ।







































