कवि श्रवण मुकारुङको चर्चित पंक्ति “माथि माथि शैलुङ्गेमा…” ले शैलुङलाई एकाएक राष्ट्रिय पहिचान दिलायो। गीतमार्फत लोकप्रिय बनेको शैलुङ आज प्रकृति, संस्कृति र धर्म–विश्वासको संगम बनेर पर्यटकहरूको प्रमुख गन्तव्यका रूपमा स्थापित हुँदैछ। रामेछाप र दोलखाको सीमामा पर्ने यो आकर्षक लेक तामाङ बोन परम्परा, बौद्ध–हिन्दु श्रद्धा, सौन्दर्यमय थुम्काहरू र अनौठा चट्टानी आकृतिहरूका कारण अद्वितीय मानिन्छ। चौँरीका गोठ, शैलुङको आलु र छुर्पी यहाँका स्वादका छुट्टै पहिचान हुन्।
पर्यटन विस्तारसँगै दुवै जिल्लाको चासो
शैलुङमा पर्यटकको चहलपहल बढेपछि दोलखाको शैलुङ गाउँपालिका र रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाबीच विकासका कार्यक्रम अग्रसरता देखिन्छ। शैलुङ क्षेत्र दुवै जिल्लाका लागि समान रूपमा आर्थिक र सांस्कृतिक अवसरको क्षेत्र बनेको छ।
दोलखातर्फ कालापानी र रामेछापतर्फ खोलाखर्कसम्म मात्रै मोटर चल्ने सडक पुगे पनि दुवै क्षेत्रमा पैदलमार्गमा सिँढी जडानजस्ता संरचनागत सुधार भइरहेका छन्। यी नै मार्ग हुँदै पर्यटक थुम्काहरूमा पुग्ने गर्छन्।
नामका अनेक मिथक
शैलुङ नामकरणबारे विभिन्न किंवदन्ती चर्चामा छन्।
-
सय थुम्का भएकाले ‘सयलुङ’ हुँदै ‘शैलुङ’ बनेको लोकप्रिय जनश्रुति छ।
-
हिमाली भाषामा ‘लुङ’ को अर्थ थुम वा पर्वतमाला भएकाले ‘लुङ’ शब्दले पहाडको समूह जनाउँछ।
-
बोन धर्म परम्परामा यो पर्वत ‘से–लुङ’ अर्थात् देवागम पर्वतको प्रतीक मानिन्छ।
-
कतिपयका अनुसार ‘सेलयुङ गाङ’ (दर्शनढुङ्गे डाँडा) नै कालान्तरमा ‘शैलुङ’ बनेको हो।
यसरी शैलुङ नाममा भूगोल, संस्कृति, भाषा, मिथक र धार्मिक आस्थाका तहहरू मिसिएका छन्।
धार्मिक–सांस्कृतिक आस्था
शैलुङको उत्तरी भागमा रहेको शैलुङ्गेश्वर (कामेश्वर) महादेव गुफा बोन, बौद्ध र शैव परम्पराको साझा आस्थास्थल हो।
यहाँ:
-
जनैपूर्णिमा,
-
बालाचतुर्दशी,
-
र १२ वर्षमा लाग्ने गोदावरी मेलामा
भव्य भीड लाग्ने गर्छ।
गुफास्थित धर्मद्वार, बाघढुङ्गा–गाईढुङ्गा, ‘पृथ्वीको नाइटो’ भनिने ढुङ्गा र महादेव–गुरु पद्मसम्भव–बोन गुरु सेरबको पाइलाको प्रतीक मानिने चिह्न यहाँका सांस्कृतिक आकर्षण हुन्।
शैलुङ पुग्ने बाटो
३,१४६ मिटर उचाइको शैलुङ विभिन्न मार्गबाट पुग्न सकिन्छ।
-
काठमाडौँ–धुलिखेल–दोलालघाट–खाडीचौर–मुढे–कालापानी
-
रामेछापको मन्थली–माकादुम–खाँडादेवी हुँदै
-
दोरम्बा–खोलाखर्क मार्गबाट
-
सुनापति–दुम्जा–लुभु–दोहबनटार हुँदै पदमार्गमार्फत
दुई जिल्लाका अनेक कच्ची सडक तथा पदमार्गले शैलुङलाई सुलभ बनाएको छ। कालापानी र खोलाखर्कमा बसोबासका लागि होटेल–घरबास उपलब्ध छन्।
प्रवर्धनका प्रयास : महोत्सवदेखि अल्ट्रा रेससम्म
गत वर्षहरूमा स्थानीय तहले शैलुङ प्रवर्धनका लागि विभिन्न कार्यक्रम अघि बढाएका छन्।
-
२०७६ मा शैलुङ महोत्सव
-
२०७८ मा साहित्यिक–सांस्कृतिक महोत्सव
-
पछिल्ला तीन वर्षदेखि सुनापति–शैलुङ अल्ट्रा म्याराथन
अल्ट्रा रेस ५५ किमीको चुनौतीपूर्ण ट्रेलमार्फत शैलुङ, दोरम्बा र खाँडादेवी क्षेत्रको पहिचान विश्वभर पुर्याइरहेको छ।
स्थानीय सरकारको रणनीति : दिगो पर्यटन
दोरम्बा शैलुङ गाउँपालिका, खाँडादेवी र शैलुङ गाउँपालिकाका जनप्रतिनिधिहरू शैलुङको दिगो विकासमा जोड दिइरहेका छन्।
उनीहरूको प्राथमिकता:
-
कृषि प्रवर्धन,
-
पदमार्ग विकास,
-
घरबास विस्तार,
-
कच्ची सडक सुधार,
-
सम्पदा संरक्षण,
-
र प्रकृति–संस्कृति नखलबल्याई पर्यटन विस्तार।
खोलाखर्कमा १० घरबास सञ्चालनमा छन्। चौँरीगोठ, छुर्पी–घिउ, शैलुङ आलु, घोडचढी र स्थानीय भोजन पर्यटक आकर्षण बनेका छन्।
चारै मौसममा छुट्टै शैलुङ
दशकदेखि पर्यटन सक्रिय दावा स्याङ्माका अनुसार शैलुङ ‘फोर–सीजन डेस्टिनेसन’ हो।
-
कात्तिक–पुस : सूर्योदय र बादलको ‘सी–अफ–क्लाउड’
-
पुस–फागुन : हिउँदको रमाइलो
-
फागुन–वैशाख : चिमाल, गुराँस, सुनाखरी
-
जेठ–असोज : हरियाली र वनस्पति अध्ययन
३४ मध्ये १८ प्रजातिका गुराँस शैलुङ क्षेत्रमा पाइने बताइन्छ।
शैलुङबाट १४ मध्ये १२ वटा ८ हजार मिटरभन्दा माथिका हिमाल—धवलागिरिदेखि पश्चिम, गोरखा–मनाङ हुँदै सगरमाथा क्षेत्रमा फैलिएका हिमश्रृङ्खला—दृष्टिगोचर हुने स्थानीयको दाबी छ।









































धार्मिक–सांस्कृतिक आस्था
स्थानीय सरकारको रणनीति : दिगो पर्यटन