काठमाडौं – समानुपातिकतर्फ तीन प्रतिशतको थ्रेसहोल्डका कारण यसपटक संसदमा राजनीतिक दलको संख्या ९ मै सीमित रहने संकेत देखिएको छ ।
समानुपातिक तर्फबाट संसदमा पुग्न विवेकशील साझा पार्टीले संघर्ष गरिरहेको छ ।
प्रत्यक्ष तर्फबाट नेकपा एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी, नयाँ शक्ति पार्टी, राप्रपा, राष्ट्रिय जनमोर्चा र नेमकिपा संसदमा पुग्ने पक्का भएको छ । ९ दलले एक वा एक भन्दा बढी सीट जितेका छन् ।
नेकपा एमाले संसदको पहिलो पार्टी बन्ने पक्का भएको छ । प्रत्यक्षमा माओवादी केन्द्र दोस्रो बनेपनि समानुपातिक तर्फको नतिजाले कांग्रेस या माओवादी को दोस्रो बन्ने भन्ने यकिन हुनेछ । अहिलेसम्म जारी समानुपातिक मतगणनामा कांग्रेस दोस्रो स्थानमा छ ।
राष्ट्रिय दल कतिवटा ?
संसदमा ९ दलको उपस्थिति भएपनि राष्ट्रिय दलको संख्या भने कम हुने संकेत देखिएको छ । राष्ट्रिय दलको मान्यता पाउन प्रत्यक्षतर्फ कम्तिमा पनि एक सिट जितेको र समानुपातिक तर्फ खसेको मतको तीन प्रतिसत ल्याउनु अनिवार्य छ ।
प्रत्यक्षतर्फ चुनाव जितेपनि अहिलेसम्म एमाले, कांग्रेस र माओवादी केन्द्रले मात्र कुल खसकेको मतको तीन प्रतिसत प्राप्त गरेका छन् । २०७० सालको संविधानसभा चुनावमा समानुपातिक तर्फबाट २४ सिट जितेको कमल थापा नेतृत्वको राप्रपाले यसपटक सोही अनुसार मत पाउने संकेत देखिएको छैन ।
समानुपातिक तर्फबाट संसदमा पुग्नको कुल खसेको मतको तीन प्रतिसत अर्थात तीन लाख भन्दा बढी मत ल्याउनु जरुरी छ । मंसिर १० र २१ गते सम्पन्न निर्वाचनमा कुल १ करोड ५ लाख ८७ हजार ५ सय १२ मत खसेको थियो । तीन प्रतिसत मत बदर हुने विगतको ट्रेण्ड कायम रहेमा समानुपातिक तर्फवाट संसदमा पुग्न कम्तिमा ३ लाख ६ हजार भोट आबस्यक पर्ने अनुमान गरिएको छ ।
नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्रले तीन प्रतिसत भन्दा बढी भोट पाइसकेका छन् । मतगणना जारी रहेकोले अन्य दलले पनि तीन प्रतिसतत भोट पाउने सम्भावना छ ।
समानुपातिक तर्फबाट संसदमा पुगे पनि प्रत्यक्षमा एकसिट पनि नजितेको विवेकशील साझा पार्टीले राष्ट्रिय दलको मान्यता भने पाउने छैन । पहिलो पटक चुनावमा सहभागी भएको नयाँ शक्ति पार्टीले पनि तीन प्रतिसत कटाउने लक्ष राखेको छ ।
राष्ट्रिय दलको मान्यता पाएका दललाई मात्र संसद सचिवालयले संसदीय दलको कार्यालय लगायत संसदले दिने सुविधा पाउने छ । बहसमा रहेको राजनीतिक दललाई अनुदान दिने कानून बन्यो भने राष्ट्रिय मान्यता प्राप्त दलले मात्र सो सुविधा पाउने छन् ।
जसले जमानत जोगाउन सकेनन्
गत संविधासभामा रहेका कतिपय दलले भने यसपटक जमानत जोगाउन पनि सकेनन् । दुइवटै संविधानसभामा समानुपातिक तर्फबाट सांसद बनेको नेकपा मालेले देशभर कुनै पनि क्षेत्रमा चुनाव जित्न सकेन भने समानुपातिकमा पनि उसले खासै मत प्राप्त गरेको छैन ।
शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागि राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), राप्रपाबाट अलग्गिएर बनेको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी), बहुजन शक्ति पार्टी, नेपाली जनता दल, संघीय लोकतान्त्रिक मञ्च थरुहट लगायतका दल यसपटक संसदमा आउनबाट चुकेका छन् । केही दल भने चुनावको पूर्वसन्ध्यामा ठूला दलमा गाभिएका थिए । lokantar







































