सघन उपचारको लागि नर्स उत्पादन गर्दै ग्राण्डी

348

काठमाडौं ।
कुनैपनि अस्पतालको सघन उपचार कक्ष (आइसियू) मा भर्ना भएको एकजना बिरामीका लागि एकजना नर्स र आईसियूभित्रै एकजना कन्सल्ट्यान्ट चिकित्सक चाहिन्छ । तर, नेपालका अधिकाँश अस्पतालमा त्यस्तो व्यवस्था हुन सकेको छैन ।
जटिल रेखदेख (क्रिटीकल केयर)बारे नर्सहरुलाई समय सापेक्ष तालीम दिन नसकेका कारण सबै अस्पतालले तालीम प्राप्त नर्सलाई आइसियुमा राख्न नसकेको बताइन्छ ।
यस्तो अवस्थामा जटिल रेखदेखलाई थप प्रभावकारी बनाउन नेपाल क्रिटिकल केयर नर्सेस एसोसिएसनसंगको सहकार्यमा ग्राण्डी अन्तराष्ट्रिय अस्पताल धापासीले यसप्रकारको पुनर्ताजगी र क्रिटिकल केयरबारे तालीम दिन शुरु गरेको छ ।
यसअघि ग्राण्डी अस्पतालका १० जना नर्सलाई त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालसंगको सहकार्यमा रोयल कलेज अफ क्यानडाबाट आएको विशेषज्ञ टोलीले नर्स एजुकेटर तालिम दिएको थियो । ग्राण्डीका तिनै तालीमप्राप्त नर्स टोलीले शनिबारदेखि विभिन्न अस्पतालको सघन उपचार कक्षमा कार्यरत २० जना नर्सलाई तालीम दिन शुरु गरेको हो ।
ग्राण्डी अस्पतालले शनिबारदेखि विभिन्न अस्पतालको सघन उपचार कक्षमा कार्यरत नर्सहरुका लागि प्रशिक्षक प्रशिक्षण शुरु गरेको छ । सो तालीममा विभिन्न चरणका छनौट परिक्षा उतिर्ण गरेका नर्सहरुको सहभागिता छ ।
चरणवद्ध रुपमा सञ्चालन हुने चार महिना लामो यस तालीमबाट सघन उपचार नर्सिङ प्रशिक्षकको प्रमाणपत्र प्राप्त गर्ने छन । प्रमाणपत्र पाएका त्यस्ता नर्सहरुले देशभरका विभिन्न अस्पतालको सघन उपचार कक्षमा कार्यरत नर्सहरुका लागि तालीम दिने ग्राण्डी अस्पतालकी सहायक नर्सिङ निर्देशक तथा नेपाल क्रिटिकल केयर नर्सेस एसोसिएसनकी एक्रिडेसन बोर्ड सदस्य लक्ष्मी केसीले बताइन ।