सचेत होऔं ५० प्रतिशत मधुमेह लक्षणबिनै

217

भक्तपुर : मधुमेहका विशेषज्ञ चिकित्सकले ५० प्रतिशत मधुमेह लक्षणबिनै देखिने भएकाले लक्षणको प्रतिक्षा नगर्न सुझाएका छन्।

 

यस्ता मधुमेह मृगौला फेल भइसकेपछि, आँखाको दृष्टि गुमिसकेपछि, घाउ तथा चोटपटकको संक्रमण अंग नै फाल्नुपर्ने अवस्थामा मात्रै पहिचान हुने भन्दै उनीहरुले सामान्य रगत जाँचबाट पत्ता लाग्ने मधुमेहको लागि अबेर नगर्न सुझाएका हुन्।

विश्व मधुमेह दिवसको अवसरमा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले बुधबार आयोजना गरेको अन्तरसंवादमा विशेषज्ञ चिकित्सकहरुले शारीरिक रुपमा निष्क्रिय जीवनशैली र खानपानले मधुमेह बढाइरहेको बताए।

वी अस्पतालका वरिष्ठ मधुमेह विशेषज्ञ चिकित्सक डा. बुद्ध कार्कीले ५० प्रतिशत मधुमेह लक्षणविनै देखिरहकाले नियमित रुपमा रगत जाँच गरिरहन सुझाव दिए।

लक्षण नदेखिने मधुमेहका बिरामीहरु धेरै बढेकाले नियमित रुपमा रगत जाँच गर्ने अवधारणा आएको उनको भनाइ थियो।

‘नियमित रगत जाँचबाट सुरुमै मधुमेहको पहिचान भए यसबाट हुने अन्य स्वास्थ्यगत समस्याबाट बच्न सकिन्छ’, डा. कार्कीले भने, ‘मधुमेहको पहिचान ढिला हुँदा मृगौला फेल भइसक्छ। आँखाको दृष्टि गुमिसक्छ। मुटुको समस्या भई हर्ट अटेक भई मानिसको ज्यानै जान सक्छ।’ उनले मधुमेह देखिनेवित्तिकै औषधोपचार गर्नसमेत सुझाए।

‘व्यायाम गरेर, योग गरेर मधुमेह ठीक गर्छु भनी नलाग्नुस्’, उनले थपे, ‘मधुमेह भएपछि एकैचोटी चिनीको मात्रा घटाउनु थप स्वास्थ्य समस्या निम्त्याउनु हो। यसलाई बढ्न पनि दिनु हुन्न। यसलाई नियन्त्रणमा राख्न औषधि चलाउन सुरु गरिहाल्नुपर्छ।’

त्यस्तै केन्द्रका प्रमुख डा. पुकारचन्द्र श्रेष्ठले मधुमेहकै कारण धेरैको मृगौला फेल हुनेहरुको संख्या बढिरहेको बताए। मधुमेहबाट बच्नु मृगौला पनि बचाउनु भएको उनको भनाइ थियो।

‘मधुमेह लागे पनि एकैचोटी मृगौला फेल हुने होइन। यसलाई नियन्त्रण गरिएन भने मृगौला, मुटु र प्यान्क्रियाजलगायतमा क्षति पुर्‍याउने हो’, डा. श्रेष्ठले भने, ‘त्यसैले मधुमेहलाई नियन्त्रण गर्नपुर्छ। नत्र हामी मधुमेहको नियन्त्रणमा पर्छौं।’

केन्द्रकी डाइटिसियन रश्मि श्रेष्ठले खानपानकै कारण पछिल्लो समय धेरै नेपालीहरुमा मधुमेह देखिएको बताइन्। उनले नखाए घन्टौं भोकै बस्ने र आए पेटमै अटेसमटेस हुने गरी खाने बानीले पनि चाँडै मधुमेह निम्त्याउने सुनाइन्।