काठमाडौं– मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभालाई मध्यनगर गरी जनकपुर बम विस्फोटका मुख्य अभियुक्तको आरोपमा काठमाडौं जेलमा रहेका पूर्व राज्यमन्त्री सञ्जय साह टक्ला गृहजिल्ला सिरहा जेलमा सरुवा भएका छन्।
धनुषा–३ का प्रतिनिधिसभा उम्मेदवार एवं कांग्रेस नेता विमलेन्द्र निधिले आफ्नो पक्षमा मत बटुल्न साहलाई खुलेर समर्थन गरेलगत्तै उनी सिरहा जेल सरुवा भएका हुन्। यसअघि सद्भावना पार्टीबाट दुवै संविधानसभा चुनावमा धनुषाबाटै निर्वाचित साहको जनकपुरधाम उपमहानगरमा राम्रो पकड रहेको मानिन्छ। अहिले साहको पुरानो पार्टीका नेता राजेन्द्र महतो राजपाबाट धनुषा–३ मा निधिसँगै चुनावी प्रतिस्पर्धामा छन्।
जनकपुरलाई आधार क्षेत्र बनाई स्थानीय सम्मका काम गर्दै आएका साहको समर्थन पाए जनकपुरधाममा रहेका साहहरुको जातीय मत आफ्नो पक्षमा आउन सक्ने आकलन गर्दै निधिले जेलमा रहेका साहको खुलेर प्रसंसा गर्न थालेका छन्।
जनकपुर उपमहानगरपालिका साहहरुको जातीय बाहुल्यता रहेको क्षेत्र हो। उक्त क्षेत्रमा साहहरुको २२ हजारभन्दा बढी मत छ। साहमा पनि तेली, कलवार, सुडी, नुनिया, कलाल, हलुवाई, रौनियार जस्ता विभिन्न जात छन्। यही मत आफ्नो पक्षमा पार्न सके निर्वाचन जित्न सहज हुने अनुमानका साथ निधिले साहसँग हात मिलाएका हुन्। स्थानीय तहको निर्वाचनमा जनकपुर उपमहानगरपालिकामा रहेको सोही जातीय मतबाट राजपाले जित हात पारेको थियो।
साह काठमाडौंमा भन्दा सिरहा जेलमा रहँदा कार्यकर्तासँगको भेटघाट र सम्पर्क सहज हुने देखेपछि निधिले उनलाई सिरहा जेल सरुवाका लागि आग्रह गरेको बुझिएको छ।
यसअघि साह अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ती आर्जन गरेको अभियोगमा २०७३ पुस २५ मा मुद्दा दायर गरेको मुद्दामा बयान दिनका लागि काठमाडौं आएका थिए। तत्कालीन समयमा अदालतमा बयानका साथै सुरक्षाको विषयलाई ध्यानमा राख्ने भन्दै साहलाई काठमाडौंको डिल्लीबजार जेलमा ल्याइएको तर्क गरिएको थियो।
विशेष अदालतले साहसँग बयान लिई थुनछेक आदेश गर्दै ५० लाख धरौटी मागेपछि थुनामै रहेका उनी धरौटी रकम नबुझाई न्यायिक हिरासतमै बसेका थिए।
पहिलो संविधानसभा निर्वाचनमा धनुषा–४ बाट विजयी भएका साह दोस्रो संविधानसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए। ०७० को चुनावमा साहले उक्त क्षेत्रबाट १२ हजार ६ सय ६६ मत ल्याई प्रतिस्पर्धी नेपाली कांग्रेसका रामसरोज यादवलाई पराजित गरेका थिए।
दोस्रो संविधानसभामा निर्वाचित भए पनि जनकपुर बमकाण्डमा मुख्य अभियुक्त भएको प्रहरी अनुसन्धानमा देखिएपछि उनी पक्राउ परेका थिए।
जनकपुर बम विस्फोटनको मुद्दामा सहयोग नपाएपछि साह आफू उपाध्यक्ष रहेको पार्टी सद्भावनाका तत्कालीन अध्यक्ष राजेन्द्र महतोसँग रुष्ट बनेका थिए। महतो र साहबीचको त्यही टकराबमा खेल्दै निधिले साहलाई सहयोग गर्ने आश्वासन दिएका हुन्। निधिले आफूले चुनाव जितेमा साहलाई सक्दो सहयोग गर्ने वचन दिएअनुसार नै चुनावी सभामा उनको समर्थनमा बोल्न थालेका छन्।
साहकै योजना र निर्देशनमा २०६९ वैशाख १८ मा जनकपुरमा बम विस्फोट भएको दाबीसहित उनीविरुद्ध मुद्दा दायर भएको थियो। अलग्गै मिथिला राज्यको माग गर्दै धर्नामा रहेका व्यक्तिलाई लक्षित गर्दै भएको बम विस्फोटनमा परी पाँच जनाको मृत्यु भएको थियो भने ३२ जना घाइते भएका थिए।
बम विस्फोटपछि घटनामा संलग्न भएको भन्दै प्रहरीले त्यसबेला जयप्रसाद चौधरी, मुकेशकुमार कर्ण, निपेन्द्र झालाई पक्राउ गरेको थियो।
घटना भएको दुई महिनापछि असार २९ मा प्रहरीले कर्तव्य ज्यान मुद्दा दायर गरेको थियो। जितेन्द्र कर्ण, राजन मुक्ति मोर्चाका रञ्जित झा, मुकेश चौधरी र आदित्यदेव बाबु फरार रहेको भनी उनीहरुलाई पनि विपक्षी बनाइएको थियो। तराईमा हिंसात्मक गतिविधिमा संलग्न शसस्त्र समूह सञ्चालन गर्दै आएका उनीहरुको योजनामै बम विस्फोट भएको प्रहरीले निष्कर्ष निकालेको थियो।
फरार अभियुक्त मुकेश चौधरी पक्राउ परेपछि मुख्य योजनाकार सञ्जय साह ‘टक्ला’ भएको बयान दिएका थिए। मुकेशको बयानका आधारमा २०७० चैत २४ मा पुनः पूरक अभियोगपत्र जिल्ला अदालतमा दायर भएको थियो। जिल्ला अदालतले सबै अभियुक्तलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर, त्यो आदेश विरुद्ध साह पुनरावेदन गए। पुनरावेदनले सोही आदेशलाई सदर गर्दै थुनामा राखेको मिलेको निर्णय गरे पनि साह २०७१ माघ ४ मा सर्वोच्च आएका थिए। तर, सर्वोच्चले जिल्ला अदालतकै थुनछेक आदेशलाई सदर गर्ने निर्णय सुनाएको थियो । जिल्ला, पुनरावेदन अदालत जनकपुर र सर्वोच्चले साथ नदिएपछि साह थुनामा परेका थिए।
फौजदारी मुद्दामा पक्राउ परेपछि साहको सभासद पद निलम्बनमा परेको थियो।







































