राजविराज । माध्यमिक शिक्षा परिक्षा (एसईई) अन्तरगत लगातार दुई दिनको परिक्षामा परिक्षा अगावै प्रश्नपत्र बाहिरिएको विषयमा छानबिन गर्न स्थानिय स्तरमा गठित छानबिन समितिले सप्तरी जिल्लाबाट प्रश्नपत्र नबाहिरिएको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको छ ।
एसईईको परिक्षामा विज्ञान र सामाजिक विषयको परिक्षाको प्रश्नपत्र परिक्षा अगावै सप्तरी जिल्लाबाट बाहिरिएको चर्चा चल्न थालेपछि स्थानिय प्रशासनद्वारा तिन दिन अघि गठित चार सदस्यीय छानबिन समितिले शनिबार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलन तथा केन्द्राध्यक्षहरुसँगको अन्तरक्रिया कार्यक्रममा सप्तरी जिल्लाबाट प्रश्नपत्र नबाहिरिएको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको छ ।
चार सदस्यीय सो छानबिन समितिमा शिक्षा विकास तथा समन्वय इकाई शाखाका अधिकृत छबि खड्का, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक गुरु प्रसाद तिम्सिना, राष्ट्रिय अनुसन्धानका सहायक प्रमुख मुकेश यादव तथा सशस्त्र प्रहरी बल नं. ६ गणका सहायक प्रहरी निरिक्षक सन्जु खत्री रहेका थिए ।
समितिको तर्फबाट प्राप्त प्रतिवेदन सार्वजनिक गर्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले टोलीले परिक्षा केन्द्रहरुमा प्रश्नपत्र पु¥याउनका लागि कायम गरिएको सबै १७ वटै इलाका तथा ३४ वटै परिक्षा केन्द्रमा पुगेर छानबिन गरेको तथा छानबिनको क्रममा यस जिल्लाबाट प्रश्न पत्र नबाहिरिएको पुष्टि भएको दाबी गरे ।
जिल्ला परिक्षा समन्वय समितिका संयोजक समेत रहेका प्रजिअ पौडेलले टोलीका अलावा आफूहरुले पनि परिक्षा केन्द्रहरुमा प्रश्न पत्र पठाउनु अघिको प्रक्रिया, दस्तावेज, प्रश्न पत्रको शिलबन्दी र त्यसको भिडियो लगायतका सबै अवस्थाबारे सुक्ष्म अनुसन्धान गरेको र जिल्लाबाट प्रश्नपत्र नबाहिरिएको निष्कर्षमा पुगेको बताउँदै भ्रम र हल्लाको पछाडी नलाग्न सबैसँग अनुरोध गरे ।
उनले भने, ‘झुठो अफवाहा फैलाएर जिल्लावासी र यहाँका प्रशासनलाई समेत बदनाम गर्ने प्रयास भइरहेको छ, यसलाई रोक्न सबैको चासो र पहल जरुरी छ ।’
प्रहरी उपरिक्षक राजेन्द्र विष्टले परिक्षा रद्द भएको विषयलाई लिएर तनावमा रहेका विद्यार्थीलाई घुसपैठ गरेर केही उच्श्रृखंल तत्वले वातावरण अशान्त बनाउन खोजेको भन्दै त्यसबाट सावधान रहन सबैमा अपिल गरे । ‘विद्यार्थीलाई उक्साएर चक्काजाम र तोडफोड गराउन केही तत्व लागि परेका छन् यस क्रममा चार÷पाँच जना प्रहरी समेत घाइते भएका छन्, उनले भने, तर पनि वातावरण बिग्रिन नदिन हामीले धेरै संयमता अपनाएका छौं, विद्यार्थीहरुलाई पनि संयमता अपनाउन अनुरोध गर्दछौं ।’
सीबिआई र प्रदेश प्रहरी ब्यूरोको टोली छानबिनका लागि राजविराजमा

यसैबीच एसईई परिक्षाको प्रश्नपत्र लगातार बाहिरिएपछि छानबिन गर्न प्रदेश प्रहरीको ब्यूरो र नेपाल प्रहरीको केन्द्रि अनुसन्धान ब्यूरो (सीआइबी) को टोली राजविराज आइपुगि छानबिन थालेका छन् । टोलीले आइटी विशेषज्ञको सहयोग लिई काम सुरु गरिसकेको प्रजिअ पौडेलले जानकारी दिए ।
यता परिक्षा रद्द भएको बिरोधमा शनिबार पनि जिल्लाको विभिन्न स्थानमा विद्यार्थीहरुले चक्काजाम र टायर बालेर प्रदर्शन गरेका छन् । सदरमुकाम राजविराजको गजेन्द्र चौक र जनआन्दोलन चौकमा टायर बालेर विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।
यस्तै पूर्वपश्चिम राजमार्ग अन्तरगत बरमझिया, कडोरबोना, खरचुईया, कठौना, कल्याणपुर लगायतका स्थानहरुमा पनि विद्यार्थीहरुले चक्काजाम र प्रदर्शन गरेका छन् । उनीहरुले प्रश्नपत्र आउट गराउनेको अविलम्ब पत्ता लगाई कडा कारवाही गर्नुपर्ने माग गरेका छन् ।
यता अवरुद्ध राजमार्गलाई सूचारु गराउन स्थानिय प्रशासन र प्रहरीले पहल जारि राखेको प्रहरी उपरिक्षक राजेन्द्र विष्टले जानकारी दिएका छन् । अत्यावशक सवारीसाधनलाई प्रहरीले सुरक्षा स्कटिङका साथ गन्तव्यतर्फ पठाइरहेको जनाइएको छ ।







































